तातोपानी नाका खुलाउन चीन सकारात्मक, ‘दूतावासले रिपोर्टिङ गरेपछि निर्णय हुन्छ’

बिजमाण्डू
२०८३ असोज १३ गते १७:३६ | Sep 29, 2026
तातोपानी नाका खुलाउन चीन सकारात्मक, ‘दूतावासले रिपोर्टिङ गरेपछि निर्णय हुन्छ’


काठमाडौं। एक महिनादेखि बन्द रहेको तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ।

Vigo
GBIME
Tata

चिनियाँ दूतावासका काउन्सिलरले मंगलबार र परराष्ट्र, अर्थ र पूर्वाधार विकास मन्त्रालयका अधिकारीसहित तातोपानी जाने बाटो अवलोकन पछि नाका खुलाउन सकारात्मक रहेको बताएका हुन्।

तातोपानी भन्सार कार्यालयका अधिकृत नरेन्द्र सिंहले चिनियाँ दूतावासका काउन्सिलरले नाका खुलाउन पोजिटिभ रहेको बताएको जानकारी दिए।

‘चिनियाँ दूतावासका काउन्सिलर नाका खुलाउने विषयमा पोजेटिभ देखिनुभएको छ। तर, उहाँले नाका कहिले खुल्छ भन्नु भएन। उहाँले दूतावासले चीनमा रिपोर्टिङ गरेपछि निर्णय आउँछ भन्नु भएको छ,’ सिंहले भने।

चीनले गत भदौ १४ गते अकस्मात तातोपानी नाका बन्द गरेको थियो। रसुवा नाका भदौ १० गतेको बाढीले ध्वस्त भएकामा असोज ८-११ को वर्षाले मुस्ताङ जोड्ने पुल बगाएका कारण कोरला नाकाबाट हुने आयात पनि रोकिएपछि सरकारले सोमबार चिनियाँ अधिकारीलाई बोलाएर तातोपानी नाका खोल्न आग्रह गरेको थियो।

दूतावासका अधिकारीले भने नेपालतर्फको बाटो भरपर्दो नरहेको भन्दै सडक संयुक्तरुपमा अवलोकन गर्नुपर्ने सर्त राखेका थिए।