प्रधानमन्त्री बालेन र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भोटेकोशी विपद् र जलवायु जोखिमबारे छलफल

बिजमाण्डू
२०८३ असोज ९ गते ०७:४७ | Sep 25, 2026
प्रधानमन्त्री बालेन र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भोटेकोशी विपद् र जलवायु जोखिमबारे छलफल


न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भोटेकोशी विपद् र जलवायु जोखिमबारे छलफल भएको छ।

Vigo
GBIME
Tata

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका शाहले बिहीबार राष्ट्रसंघ मुख्यालयमा गुटेरेससँग भेट गरेका हुन्।

भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्‍मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरे। उनले जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए।

गुटेरेसले नेपाली युवा प्रतिनिधिमण्डलको पनि प्रशंसा गरे। उनले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिए। उनले गुटेरेसको कार्यकाल सफल भएको भन्दै आगामी दिनका लागि शुभकामना दिए।

भोटेकोशी विपद्‍बाट नेपालले ठूलो क्षति बेहोरेको शाहले बताए। उनले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गुटेरेसलाई गराए।

भेटमा नदी किनारमा बसोबास गर्ने प्रभावितको पुनर्वासबारे पनि छलफल भएको थियो। त्यस्तै, विपद्पछिको हरित पुनर्निर्माणलाई अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो।

नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्ने विषय पनि भेटमा उठेको थियो। स्तरोन्नतिको समयसीमा थप गर्न राष्ट्रसंघबाट आवश्यक समर्थन जुटाउने विषयमा समेत छलफल भएको थियो।