वर्षाका कारण विभिन्न राजमार्गमा राति सवारीसाधन चलाउन रोक, स्थानीय तहले गरे विद्यालय बन्द

बिजमाण्डू
२०८३ असोज ८ गते २१:५२ | Sep 24, 2026
वर्षाका कारण विभिन्न राजमार्गमा राति सवारीसाधन चलाउन रोक, स्थानीय तहले गरे विद्यालय बन्द
फाइल फोटो


काठमाडौं। वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई लिएर विभिन्न राजमार्गहरुमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सिद्धार्थ राजमार्ग, बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक लगाइएको छ।

Vigo
GBIME
Tata

राससका अनुसार सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान-सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले आजदेखि असोज १२ गतेसम्म बेलुकी ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी रोक्ने निर्णय गरेको हो।

यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।

उनले एक सूचना जारी गर्दै हालको मौसममा आएको परिवर्तनका कारण पाल्पा जिल्लामा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म भारी वर्षा हुनसक्ने नेपाल मौसम विज्ञान विभागको सूचनालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न राति सवारी आवागमन बन्द गरिएको उल्लेख गरे।

२४ घण्टामा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा बढी १६१ मिलिमिटर वर्षा भएको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै यहाँका स-साना खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना समेत रहेको छ।

यस्तै स्थानीय प्रशासनले म्याग्दीका मुख्य दुई वटा सडकमा बिहीबारदेखि चार दिनका लागि रातको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाएको छ।

जिल्ला सदरमुकाम बेनीबाट रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम र मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी जोड्ने बेनी-दरवाङ सडकमा यही असोज ११ गतेसम्मका लागि यातायातका साधन सञ्चालनमा रोक लगाइएको हो।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले भारी वर्षाका कारण हुन सक्ने विपद्को जोखिम र क्षति न्यूनीकरणका लागि दुई वटै सडकमा साँझ ६:०० देखि भोलिपल्ट बिहान ६:०० बजेसम्म कुनै पनि यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको जानकारी दिए।

मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई पनि बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण जोखिमयुक्त क्षेत्र पहिचान गरेका छन्। बाढी, पहिरो, कटानका कारण सम्भावित क्षतिलाई आकलन गर्दै धवलागिरि गाउँपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गरेको छ।

बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले स्थानीय बिदाबाट समायोजन हुने गरी शुक्रबार शैक्षिक संस्था बिदा दिएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार स्थानीय तह, सुरक्षा निकाय र समुदाय स्तरमा सतर्कताका साथै पूर्वतयारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए।

निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत् आयोजनालाई समेत सतर्कता अपनाउन प्रशासनले निर्देशन दिएको छ। विपद्को अवस्थामा सडक, विद्युत्, सञ्चारलगायत आधारभूत सुविधामा हुन सक्ने अवरोध हटाउनका लागि बेनी-जोमसोम-कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, छ वटै स्थानीय तह, विद्युत् प्राधिकरण, नेपाल टेलिकम सहितका सेवा प्रदायक निकाय र उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटीलगायत सङ्घसंस्थासँग समन्वय गरिएको प्रजिअ गैरेले बताए।