धान चामल दुई महिनामा ३.३५ अर्बको भित्रियो, व्यवसायीले आयात ४० प्रतिशतले किन घटाए?

बिजमाण्डू
२०८३ असोज ८ गते १८:१६ | Sep 24, 2026
धान चामल दुई महिनामा ३.३५ अर्बको भित्रियो, व्यवसायीले आयात ४० प्रतिशतले किन घटाए?


काठमाडौं। चालु आर्थिक वर्ष मूल्यका आधारमा धान चामलको आयात ४० प्रतिशतले घटेको छ। यो वर्ष दुई महिनामा ३ अर्ब ३५ करोड रुपैयाँको धान चामल आयात भएको छ।

Vigo
GBIME
Tata

गत आर्थिक वर्ष साउन र भदौमा ५ अर्ब ५२ करोड ३७ लाख रुपैयाँको धान चामल आयात भएको तथ्यांक छ।

भन्सार विभागका अनुसार भदौ मसान्तसम्म भारतबाट ७४ करोड ६६ लाख २२ हजार रुपैयाँको एक करोड ६४ लाख केजी धान आयात भएको छ।

यस्तै १ अर्ब ३९ करोड रुपैयाँको १ करोड ९६ लाख ३९ हजार केजी चामल आयात भएको छ। यसबाहेक १ अर्ब २१ करोड रुपैयाँको ८८ लाख ६८ हजार केजी बासमती चामल आयात भएको विभागले जनाएको छ।

चालु आवको दोस्रो महिनामा धान चामलको आयात बढेपनि गत वर्षको भन्दा कम परिमाणमा धान चामल आयात भएका भन्सार तथ्याङ्कले देखाएको छ।

गत वर्ष साउन र भदौमा २ अर्बको ५ करोड ५७ लाख ६६ हजार केजी धान आयात भएको थियो। यस्तै १ अर्ब २ करोड रुपैयाँको ९३ लाख ४७ हजार केजी बासमती र २ अर्ब ३५ करोड रुपैयाँको ३ करोड ६७ लाख ९९ हजार केजी अन्य चामल आयात भएको थियो।

किन घट्यो आयात?

नेपाल चामल तेल दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालले धान चामल पर्याप्त स्टक रहेका कारण आयात घटेको बताए।

‘राजमार्ग धेरै दिन बन्द भएका कारण उद्योगीले धेरै मगाएनन्। उद्योगीसँग स्टक पर्याप्त नै छ। स्वदेशी मिलमा धानको अभाव छैन,’ उनले भने।

उनका अनुसार अफसिजनका कारण पछिल्लो समय भारतमै धान चामलको भाउ बढेका कारण पनि उद्योगीले अहिले आयात घटाएका हुन्।

‘भारतमा सिजनमा ४ हजार देखि ४२ सय रुपैयाँ प्रति क्विन्टल पाइने धानको मूल्य अहिले ५५०० पुगेको छ,’ उनले भने, ‘अब नयाँ धान आउने बेला भएकोले पनि आयात घटेको हो।’