काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अन्तरदिवसीय कारोबार (इन्ट्रा डे ट्रेडिङ) सम्बन्धी अवधारणा ल्याएको छ।
सेबोनले बजारमा तरलता, मूल्य अन्वेषण प्रक्रियामा प्रभावकारिता तथा आधुनिक पुँजी बजार पूर्वाधारको विकास गर्ने गरी इन्ट्राडे कारोबारको अवधारणा ल्याएको हो।
अवधारणापत्रले लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै जोखिममा आधारित नियमन, चरणबद्ध कार्यान्वयन, प्रविधिमा आधारित वास्तविक समयको कारोबार तथा अनुगमन र पारदर्शी बजार सञ्चालनलाई मुख्य आधार बनाएको छ।
प्रारम्भमा नियमित रूपमा कारोबार हुने, पर्याप्त तरलता भएका र बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम भएका सीमित धितोपत्रलाई मात्रै अन्तरदिवसीय कारोबारका लागि योग्य बनाउन सकिने भएपनि परीक्षण चरणमा प्राप्त अनुभव र जोखिमको मूल्यांकनपछि कारोबारको दायरा विस्तार गर्ने प्रस्ताव गरिएको छ।
अवधारणापत्रमा नेपालको वर्तमान बजार संरचना, संस्थागत क्षमता तथा जोखिम व्यवस्थापनको अवस्थााई दृष्टिगत गरी अन्तरदिवसीय कारोबारलाई चरणबद्ध रुपमा कार्यान्वयन गर्ने अबधारणा प्रस्ताव गरिएको छ।
पहिलो चरणमा ‘बाइ फर्स्ट सेल लेट‘ प्रकृतिको कारोबारबाट सुरु गर्ने र सेक्युरिटी लेण्डिङ तथा बरोइङ तथा कभर सर्टसेलको पूर्वाधार पर्याप्त रुपमा विकास भएपछि मात्र ‘सेल फर्स्ट बाइ लेटर‘ प्रकृतिको कारोबारलाई कार्यान्वयनमा ल्याउने व्यवस्था गर्न लागिएको छ।
अन्तरदिवसीय कारोबारलाई तत्काल पूर्ण रुपमा सञ्चालनमा ल्याउनेभन्दा पहिले आवश्यक कानूनी तथा नियामकीय व्यवस्था, योग्य धितोपत्रको मापदण्ड, योग्य लगानीकर्ता व्यवस्था, ब्रोकर एसओपी, रिस्क डिस्क्लोजर, मार्जिन, सर्भेलेन्स तथा प्रविधिगत पूर्वाधार तयार गर्ने र त्यसपछि टेस्टिङ तथा तयारी मूल्यांकनमार्फत् चरणबद्ध रुपमा कार्यान्वयन गर्ने अबधारणा प्रस्तुत गरिएको छ।
सेबोनले नेपाल स्टक एक्सचेञ्ज, सीडीएस एण्ड क्लियरिङ र स्टक ब्रोकर एशोसिएसन अफ नेपालका प्रतिनिधिको छलफलमा यो अवधारणा तयार पारेको हो।











