काठमाडौं । राष्ट्रिय योजना आयोगले भोटेकोशी बाढीबाट प्रभावित, मृतक वा बेपत्ताको विवरण अनलाइनमार्फत बुझाउन सकिने बताएको छ।
प्रभावितको संख्या निश्चित क्षेत्रमा मात्रै नभएको भन्दै सबैको सहजताका लागि पिडिएनए.एनपिसी.जिओभी.एनपी मा गएर यही १५ गतेसम्म क्षतिको जुनसुकै विवरण भर्न आयोगले आग्रह गरेको हो।
आयोगले प्रभावित क्षेत्रका साथै अन्य स्थानबाट विभिन्न प्रयोजनका लागि सो क्षेत्रमा पुगेका ठूलो संख्यासमेत प्रभावित भएको बताएको छ। आफ्नो टोली पुग्न नसक्ने अन्य जिल्लाका लागि अनलाइन विवरण प्रभावकारी हुने आयोगको भनाइ छ।
प्रभावितका साथै अन्य जिल्लामा भएकाहरूका सम्बन्धित परिवार, आफन्त वा कानुनी हकवालाले सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृत वा तोकिएको कर्मचारीमार्फत आयोगको पोर्टलमा गएर पूर्ण र यथार्थ विवरण उपलब्ध गराउन सक्नेछन्।
आयोगले बाढीबाट भएको मानवीय, आर्थिक, सामाजिक, पूर्वाधार लगायतका क्षेत्रको विस्तृत अध्ययन गरिरहेको छ। त्यसको वित्तीय आवश्यकता अनुमान तथा पुनर्निर्माण योजना सहितको विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) पनि गरिरहेको छ।
यसका लागि आयोगले रसुवा, नुवाकोट, धादिङका प्रभावित स्थानीय तहका प्रत्येक वडामा प्राविधिक सहितको टिम खटाएको जनाएको छ।











