रसुवा। गत भदौ १० गते आएको बाढीले चिरचिरे भीरदेखि बेत्रावतीतर्फको पुरानो सडकमा ठूलो क्षति पुर्याए। त्यसको भोलिपल्टै प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी भदौ १२ गतेदेखि वैकल्पिक ट्र्याक खोल्न काम सुरु गर्यो।
सुरुमा पुरानै सडकको ट्र्याकबाट काम अघि बढाउने प्रयास गरिए पनि सडकमा करिब २० देखि ३० फिटसम्म लेदो थुप्रिएका कारण काम अघि बढाउन कठिन भयो।
त्यसपछि प्राविधिक टोलीले क्षतिग्रस्त सडकको केही माथिपट्टिबाट नयाँ ट्र्याक खोलेको सडक विभागकी इन्जिनियर इस्मिता झाले बताइन्। उनका अनुसार लगातार काम गरेपछि हालसम्म करिब २.२ किलोमिटर भागमा ग्राभेलको काम पूरा भइसकेको छ।


करिब १०० मिटरको चट्टानी भाग मात्रै मुख्य चुनौतीका रूपमा रहेको इन्जिनियर झाले बताइन्।
चट्टानी भाग छिचोलेर शुक्रबारसम्म सडक जोड्ने लक्ष्य राखिएको छ। त्यसपछि बेत्रावतीतर्फ मेसिन तथा आवश्यक निर्माण सामग्री लैजान सहज हुनेछ।
‘सडक खोल्न अहिले बेत्रावतीपारि दुईसहित करिब २० वटा मेसिन परिचालन गरिएको छ। प्राविधिक टोलीले बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म निरन्तर काम गरिरहेको छ,’ झाले भनिन्।


चट्टानी भागमा मेसिनबाट काम अघि बढाउन नसके ब्लास्टिङ गर्ने विकल्प राखिएको छ। यसअघि एकपटक ब्लास्टिङ गरिसकिएको र त्यसले सडक चौडा बनाउन तथा मेसिन प्रवेश गराउन सहयोग पुगेको इन्जिनियर झाले बताइन्।
‘आवश्यक परे नेपाली सेनाको सहयोगमा थप ब्लास्टिङ गर्ने विषयमा पनि छलफल भइरहेको छ,’ उनले भनिन्, ‘सडक जोडिएपछि बेत्रावतीमा निर्माणाधीन बेलीब्रिजका लागि आवश्यक सामग्री लैजान बाटो खुल्नेछ।’
बेत्रावतीमा बेलीब्रिज निर्माणका लागि फाउन्डेसन तहको काम करिब पूरा भइसकेको छ। सडक जोडिएपछि नेपाली सेनाको सहयोगमा केही दिनमै बेलीब्रिज निर्माण अघि बढाउने तयारी छ।


बेलीब्रिज बनेपछि रसुवा जाने सडक सञ्चालनमा आउनेछ। त्यसपछि स्याफ्रुबेसीमा पनि बेलीब्रिजका लागि आवश्यक तयारी अघि बढाउने उनले जानकारी दिइन्।
नयाँ ट्र्याक खोल्दा प्राविधिक टोलीले सडकको लेभल सकेसम्म माथि राखेको छ। सामान्य वर्षामा फेरि सडक बग्ने जोखिम कम गर्ने उद्देश्यले यस्तो संरचना बनाइएको इन्जिनियर झाको भनाइ छ।
तर, विगतकै जस्तो ठूलो बाढी आएमा केही भागमा क्षति पुग्न सक्ने जोखिम कायमै छ। अहिले अन्य वैकल्पिक बाटो नभएकाले तत्कालका लागि यही ट्र्याकमार्फत सडक सम्पर्क कायम गर्ने प्रयास भइरहेको उनले जनाइन्।





















