काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्थाको औचित्यबारे अवधारणापत्र ल्याएको छ।
सेबोनले भदौ दोस्रो साता सूचीकृत कम्पनीलाई आधारभूत सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्नु १५ दिनअघि कम्पनीलाई जानकारी गराएर नेप्सेमार्फत सूचना सार्वजनिक गर्न निर्देशन दिएकामा अहिले अवधारणा पत्र ल्याएको हो।
सेबोनले बजार निगरानी, लगानीकर्ता संरक्षण तथा व्यवस्थित कारोबारको साधनका रूपमा विकास गर्ने उदेश्यले अग्रिम रुपमा सेयर बिक्रीको सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ।
यसले लगानीकर्ताको सूचनामा समान पहुँच सुनिश्चित गर्न, सूचित निर्णय गर्न सक्षम बनाउन, बजारमा सम्भावित आपूर्तिको पूर्वानुमान गर्न, असामान्य मूल्य प्रतिक्रियाको पहिचान गर्न र धितोपत्र कसूर एवं बजार दुरुपयोग निगरानीमा सहयोग पुग्ने विश्वास छ।











