अंकित मूल्यबाट आइपीओमा बजार प्रणाली, निष्कासन गर्ने सबै कम्पनीलाई बुक बिल्डिङमा लैजान लागिएको हो?

सुनिल कुँवर
२०८३ असोज ७ गते ०९:३८ | Sep 23, 2026
अंकित मूल्यबाट आइपीओमा बजार प्रणाली, निष्कासन गर्ने सबै कम्पनीलाई बुक बिल्डिङमा लैजान लागिएको हो?


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीको आइपीओ मूल्य निर्धारणमा नयाँ व्यवस्था लागू गर्ने भएको छ।

Vigo
GBIME
Tata

कम्पनीहरुले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा सेयर निष्कासन गर्दै आएकामा लगानीकर्ताबाट तय मूल्यका आधारमा सेयर बिक्रीको व्यवस्था गर्न लागिएको हो।

सेबोनले कम्पनीको आइपीओ निष्कासनका लागि मूल्य निर्धारण विधिमा सुधारका लागि कानुन संशोधन गर्न काम गरिरहेको छ। सेयर बिक्री गरेर नेप्सेमा सूचीकृत हुन चाहने सबै क्षेत्रका कम्पनीको मूल्य निर्धारणलाई मागमा आधारित बनाउन लागिएको हो।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भदौ मसान्तमा पुँजी बजार सुदृढीकरण कार्ययोजना सार्वजनिक गर्दै सेबोनले पुस मसान्तभित्र आइपीओको मूल्य निर्धारणमा बजारमा आधारित प्रणाली लागू गर्ने घोषणा गरेका थिए।

‘बजारमुखी मूल्य प्रणालीमा आधारित सार्वजनिक निष्कासनका लागि क्षेत्रगत समूहरू क्रमशः जलविद्युत, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि, औषधी उद्योगका लागि विशिष्ट योग्यता, मूल्य अन्वेषण (प्राइस डिस्कभरी) प्रणाली, धितोपत्र बाँडफाँट प्रणाली लगायतका नीतिगत एवं कानूनी सुधार बोर्डले तर्जुमा गरी २०८३ पुस मसान्तभित्र लागु गर्ने,’ सरकारले ल्याएको बजार सुदृढीकरण कार्ययोजनामा उल्लेख छ।

बजारमा कम्पनीले अहिले अंकित मूल्य १०० रुपैयाँ दरमा सेयर बिक्री गर्दै आएका छन्। त्यसबाहेक कम्पनीहरुले अंकित मूल्यमा रकम थपेर प्रिमियम र संस्थागत लगानीकर्ताले खरिद गरेको आधारमा तय मूल्य बुक बिल्डिङ विधिमा सेयर बिक्री गर्दै आएका छन्।

बुक बिल्डिङ विधिमार्फत दुई कम्पनीले मात्रै आइपीओ निष्कासन गरेका बेला सेबोनको अरु कम्पनीलाई त्यही प्रणाली अनुसार बिक्रीको व्यवस्था गर्न लागेको हो।

‘प्राइस डिस्कभरी संयन्त्र भनेको अहिलेको बुक बिल्डिङ नै हो। संस्थागत लगानीकर्ताले खरिद गरेको मूल्यका आधारमा तय मूल्यलाई अन्तिम मानेर कम्पनीले सेयर बिक्री गर्न सकिने व्यवस्था लागू गर्न खोजिएको हो,’ सेबोनका एक अधिकृतले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासहेर्दा विकसित बजारले अंकित मूल्यबाट बुक बिल्डिङबाट सेयर बिक्री गरिरहेका छन्। तर, हामीले कम्पनीको भ्यालू यति हो भन्ने गरेका छौं। यो कम्पनीसँगै बजारको हितमा नभएर नयाँ प्रणालीतिर जान लागिएको हो।’

बजारमा पछिल्लो तीन वर्षदेखि प्रिमियम विधिबाट आइपीओ निष्कासन गर्न बन्द भएको छ। सेबोनका तत्कालीन अध्यक्ष रमेश कुमार हमालले मनपरी ढंगले इन्स्योरेन्स कम्पनी र केही सिमेन्ट कम्पनीलाई प्रिमियम मूल्यमा सेयर बिक्री गर्न दिएका थिए।

आइपीओ बिक्रीमा रमेश हमालको मनपरीपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यको आइपीओले लगानीकर्ता जोखिममा परेको भन्दै निष्कासन नगर्न निर्देशन दिएको थियो। त्यसपछि सेबोनले पाइपलाइनका कम्पनीलाई निष्कासन अनुमति प्रक्रिया अगाडि बढाएको छैन।

प्रिमिय मूल्यमा आइपीओ बिक्रीका लागि दुई दर्जन कम्पनीले सेबोनमा आवेदन दिएका छन्। अंकित मूल्य १०० रुपैयाँ दरमा निश्चित रकम प्रिमियम थपेर कम्पनीले सेयर बिक्रीका लागि मूल्य तय गर्छन्।

समितिको निर्देशनले ब्रेक लगाएको प्रिमियम मूल्यको आइपीओलाई बुक बिल्डिङ प्रणालीतिर लैजाने सेबोनको योजना छ।

बुक बिल्डिङ विधिमा संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत कम्पनीको सेयर मूल्य तय गर्छन्। संस्थागत लगानीकर्ताबाट कायम मूल्यमा १० प्रतिशत घटाएर कम्पनीले सर्वसाधारणलाई बिक्री गर्नुपर्ने व्यवस्था अहिलेको बुक बिल्डिङ निर्देशिकामा छ।

बुक बिल्डिङ विधिले कम्पनीको वास्तविक वित्तीय स्थितिका आधारमा मूल्य तय गर्ने भए पनि अहिलेसम्म दुई कम्पनीले मात्रै सेयर बिक्री गरेका छन्। सर्वोत्तम् सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमार्फत सेयर निष्कासन गरेका हुन।

सेबोनको अहिलेको कानुनी प्रावधान अनुसार आवेदन दिएका सबै कम्पनी बुक बिल्डिङका लागि योग्यता पुग्दैन। निर्माणाधिन अवस्थामा रहेका जलविद्युत कम्पनी, होटल र रियल सेक्टरका कम्पनीले नाफा कमाएका हुँदैनन्। त्यही भएर कम्पनीको नेटवर्थ लगायत वित्तीय अवस्था प्रतिफल वितरण गर्न सक्ने भइसकेको हुँदैन।

पुँजी आवश्यक पर्ने र बाध्यकारी निष्कासनको व्यवस्था गरिएका कम्पनीका लागि नियामकीय प्रावधानका आधारमा फेस भ्यालुको अनुमतिलाई निरन्तरता दिनुपर्ने विश्लेषकहरु बताउँछन्।

‘आइपीओ निष्कासनका लागि मूल्य तय गर्ने प्रणाली राम्रो हो। यसले कम्पनीको वास्तविक भ्यालु जानकारी हुन्छ,’ सेयर विश्लेषक अनलराज भट्टराईले बिजमाण्डूसँग भने, ‘तर, निष्कासनका लागि बाध्यकारी गरिएका र निर्माणाधिन चरणमा रहेका कम्पनीको हकमा फेसभ्यालुलाई नै आधार बनाउनुपर्छ। पुँजी आवश्यक भइरहेको अवस्थामा तथा निर्माणकै चरणमा रहँदा कम्पनीको वित्तीय स्थिति नै कमजोर हुन्छ।’

सेबोनले आइपीओको मूल्यलाई बजार प्रणाली अनुसार बनाउन योग्य संस्थागत लगानीकर्ताको समेत योग्यता तोक्न लागेको छ।

‘खासमा यो बुक बिल्डिङमै जान खोजेको जस्तो देखिन्छ। कम्पनीको सेयर मूल्य निर्धारणका लागि बुक बिल्ड नै गर्ने हो। क्वालिफाइड इन्स्युच्युसनल बायर (क्युआइबी)लाई बुक गर्न लगाएपछि कुन कम्पनीको भ्यालु कति हो भन्ने थाहा हुन्छ। यो सबैलाई विनविन नै गर्ने विधि हो,’ एक मर्चेन्ट बैंकरले भने,’क्युआइबीकै योग्यता सम्बन्धी सेबोनले गाइडलाइन बनाउँदैछ भन्ने जानकारी आएको छ।’