सेयर बजार कारोबार आजबाट पूर्ववत् चल्ने, नेप्सेले भन्यो – ‘प्राविधिक समस्या समाधान भयो’

बिजमाण्डू
२०८३ असोज ६ गते ०९:०२ | Sep 22, 2026
सेयर बजार कारोबार आजबाट पूर्ववत् चल्ने, नेप्सेले भन्यो – ‘प्राविधिक समस्या समाधान भयो’


काठमाडौं। सेयर बजार आज (मंगलबार)देखि पूर्ववत् नियमित सञ्चालनमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले यस्तो जनाएको हो।

Vigo
GBIME
Tata

‘७२ वटा कारोबार सदस्यहरुको डाटा सेन्टरका रुपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी आएको हुँदा आज मिति २०८३।०६।०६ देखि नेप्सेमा पूर्ववत कारोबार सञ्चालन हुने व्यहोरा सबैलाई जानकारी गराउँदछौं,’ नेप्सेले सूचना जारी गर्दै भनेको छ।

डाटा हबमा प्राविधिक समस्या आएपछि नेटवर्कमा सावधानीका लागि सोमबार बजार कारोबार बन्द गरिएको थियो। डाटा हबले प्रणालीमा गडबडी आएको जानकारी दिएपछि नेप्सेले बजार कारोबार एक दिनका लागि स्थगित गरेको थियो।

डाटा हबको प्रणाली नेप्सेसँग आबद्ध रहेकाले लगानीकर्तामा डाटा सुरक्षाप्रति चासोसँगै चिन्ता बढेको थियो। बजार कारोबार स्थगनसँगै धितोपत्र बोर्डको ध्यानाकर्षण भएको थियो। ‘दोस्रो बजार सञ्चालकको रूपमा रहेको नेप्सेबाट आइतबार बिहानदेखि धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमतिपत्र प्राप्त ९२ कम्पनी मध्ये ७२ व्यवसायीहरुको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आई मिति सोमबारका दिन कारोबार स्थगन गरिएको जानकारी प्राप्त भएको’ भन्दै परिस्थितिका सम्बन्धमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो।

बोर्डबाट नेप्सेलाई धितोपत्रको कारोबार रोक्नुपर्ने गरी उत्पन्न विषम परिस्थितिको सम्बन्धमा आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटनाहरू पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारहरूसहितको प्रतिवेदन आगामी सोमबारसम्म बुझाउन निर्देशन दिइएको छ। साथै समस्या पहिचान गर्न बोर्डका उप कार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको छ।