डेटा हबमा र्‍यान्समवेयर आक्रमणले बन्द भएको सेयर कारोबार भोलि खुल्ने, क्लिनअप हुँदै

बिजमाण्डू
२०८३ असोज ५ गते १७:०६ | Sep 21, 2026
डेटा हबमा र्‍यान्समवेयर आक्रमणले बन्द भएको सेयर कारोबार भोलि खुल्ने, क्लिनअप हुँदै


काठमाडौं। डेटा हबमा भएको साइबर हमलापछि सोमबार अबरुद्ध भएको सेयर किनबेच भोलिदेखि खुल्ने भएको छ। ७२ वटा ब्रोकर कम्पनीको सर्भर राखिएको डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमणपछि सोमबार बन्द गरिएको सेयर बजार मंगलबारदेखि खुल्ने भएको हो।

Vigo
GBIME
Tata

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष नितेशकुमार अग्रवालले डेटा हबमा भएको साइबर आक्रमणपछि डेटा क्लिलिनिङको काम सकिएको र भोलिदेखि कारोबार सञ्चालन गर्न सकिने जानकारी आएको बताए।

‘डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण भएको जानकारी आएपछि सिस्टममाथि थप क्षति हुन नदिन सेयर कारोबार नै बन्द गर्नुपरेको थियो। बिहानै क्लिनअपको काम भइरहेको भन्ने कुरा आएको थियो। तर, पूर्णरुपमा क्लिनअप नगरी सञ्चालन गर्दा फेरि आक्रमण हुने जोखिम देखेपछि कारोबार बन्द गरिएको हो,’ उनले भने, ‘क्लिनअप सकिएपछि रिचेक गरेर भोलिदेखि सेयर कारोबार गर्न सकिन्छ भन्ने जानकारी आएको छ।’ ब्रोकरहरुसँग अहिले आफ्नै डेटा सेन्टर छैन। उनीहरुले डेटा हबको डेटा सेन्टरबाट क्लाउड सर्भिस लिइरहेका छन्।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले डेटा हबबाट औपचारिक रुपमा पत्र नआएको बताए। ‘डेटा हबबाट अफिसियल रुपमा पत्र आएको छैन। तर, अनौपचारिक रुपमा भोलिदेखि कारोबार सुरु गर्न सकिने जानकारी आएको छ,’ पराजुलीले भने।

सोमबार डेटा हबले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) होस्ट गर्ने पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण भएको फेला परेको जानकारी गराएको थियो। साइबर आक्रमणपछि डेटा हबले बिहान ४ बजेसम्मको डेटा ब्याकअपलाई सुरक्षित राखेको जनाएको छ।

‘डेटा हबले र्‍यान्समवेयर आक्रमणपछि त्यसअघिको ब्याकअप डेटालाई सुरक्षित र अलग राखेका छौं,’ डेटा हबले भनेको छ, ‘र्‍यान्समवेयरले अन्य जोडिएका नेटवर्क र प्रणालीहरूमा पनि असर पुर्‍याएको वा फैलिन सक्ने सम्भावना भएकाले, प्रभावित प्रणालीहरूलाई अहिलेसम्म अनलाइन ल्याइएको छैन।’

सोमबार बिहान साढे पाँच बजे डेटा हबमा र्‍यान्समवेयर आक्रमण भएको कम्पनीले जनाएको छ। ‘डेटा हबबाट सर्भिस लिएका ब्रोकर मात्रै नभइ अरु निजी क्षेत्रका कम्पनीको समेत सेवा अवरुद्ध भएको छ,’ अग्रवालले भने, ‘यो प्रणालीगत समस्या होइन। साइबर आक्रमणको निसानामा डेटा सेन्टर परेको देखिन्छ। त्यसैले क्लिनअप सकिएपछि हामी सेवा पुन सुरु गर्नेछौं।’