काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष उठाउन सरकारलाई निर्देशन दिएको छ।
रास्वपा सभापति रवि लामिछानेले आइतबार पार्टीको सचिवालय बैठक राखेर भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका बारेमा कुरा राख्न प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनाललाई निर्देशन दिएका हुन्।

राष्ट्रसंघको महासभामा भाग लिन मन्त्री खनाल आइतबार अमेरिका प्रस्थान गरेका छन् भने प्रधानमन्त्री मंगलबार जाने तालिका छ।
बैठकले बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुयाई पीडित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

बैठकले पार्टीको अधिवक्ताहरु हरिचन्द्र भट्टराई, सुशीला सिंखडा, शान्ता थापा, नन्दन तिमिल्सिना, रोहन बोहजू, भविन्द्र राई, सन्तोष आचार्य, सन्तोष बिसुङ्खे, श्वेता कुमारी र रामचन्द्र कार्कीलाई केन्द्रीय अनुशासन आयोगको सदस्यमा मनोनीत गरेको छ।
त्यसैगरी, ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुख मनोनयन गरिएको रास्वपाले जनाएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजंग कार्की मनोनीत भएका छन्।

बैठकमा पार्टी उपसभापति रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए। उनी तीन दिने भारत भ्रमणबाट शनिबार राति स्वदेश फर्किएका थिए।










