काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको अन्तिम दिन भारतीय उद्योग परिसंघ (सीआईआई)ले राउण्ड टेबल छलफल राखेको थियो।
नयाँ दिल्लीको सीआईआई मुख्यालयमा भएको छलफलमा नेपालमा लगानी गरिरहेका अधिकांश कम्पनीका उच्च व्यवस्थापन र लगानीकर्ता सहभागी थिए। धेरै पछाडि पहिलोपटक यसरी बहुराष्ट्रिय कम्पनीका लगानीकर्ता भेला भएर अर्थमन्त्री वाग्लेको सम्बोधन सुनेका थिए।
कार्यक्रममा सीआईआईका पूर्वअध्यक्ष एवं आईटीसी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जीव पुरी, सीआईआई हेल्थकेयर काउन्सिलका अध्यक्ष एवं ग्लोबल हेल्थ लिमिटेड (मेदान्ता) अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. नरेश त्रेहान, सीआईआई युरोप काउन्सिलका सह-अध्यक्ष एवं जेबीएम अटो लिमिटेडका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक निशान्त आर्य, एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक भूपेन्द्र गुप्ता सहभागी थिए।
यस्तै, वरुण बेभरेजेजका संस्थापक अध्यक्ष रविकान्त जयपुरिया, राइट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक राहुल मिथल, ज्याक्सन डिस्ट्रीब्युटेड इनर्जीका सीईओ सुधांशु पोखरियाल, जीएमआर इनर्जीका सीओओ मनोजकुमार दीक्षित, डाबर इन्डिया लिमिटेडका कार्यकारी निर्देशक अभिषेक जुगरान पनि छलफलमा थिए।
उनीहरुसँगै कोकाकोला इन्डिया र दक्षिण-पश्चिम एसियाकी उपाध्यक्ष देवयानी राणा र पन्जाब नेसनल बैंकका कार्यकारी निर्देशक एम परमासिवम पनि सहभागी थिए।
त्यसक्रममा मन्त्री वाग्लेले नयाँलाई लगानी गर्न र लगानी गरिसकेकालाई विस्तारका लागि आग्रह गरे।

छलफलमा उनले नेपाल सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनागत आर्थिक रुपान्तरणमा अगाडि बढेको बताउँदै अनुमानयोग्य, पारदर्शी र लगानीमैत्री व्यावसायिक वातावरण सिर्जना गर्न सरकार लागिरहेको बताएका थिए।
सीआईआईको मात्रै निम्तो
सीआईआईले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका उच्च व्यवस्थापक र लगानीकर्तालाई बोलाएर अर्थमन्त्री वाग्लेसँग राखेको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ भने सहभागी थिएन। प्रधानमन्त्रीको भ्रमण भएको बखतमा प्रतिनिधिमण्डलमा नै महासंघका अध्यक्षसहितका उच्च पदाधिकारी रहने गर्छन्।
नयाँ सरकार आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमण गरेका छैनन्। विगतमा नयाँ सरकार आउँदा अक्सर पहिलो भ्रमण भारत नै हुने गर्थ्यो। त्यो बेलामा सीआईआई र एफएनसीसीआईले मिलेर प्रधानमन्त्रीसहितको कार्यक्रम राख्ने गर्थे।
यो पटक शाहको भ्रमण नभएकोले अर्थमन्त्री वाग्ले गएका बेला उनीहरुले उद्योगीहरुसँग छलफल राखेका थिए। स्रोतका अनुसार सीआईआईले एफएनसीसीआईका अध्यक्ष अन्जन श्रेष्ठलाई कार्यक्रमको निम्तो गरेको थियो। अर्थमन्त्री वाग्ले भारत भ्रमण जानेदिन उनलाई सीआईआईबाट निम्तो आएको थियो।
तर, अर्थमन्त्री र अर्थ मन्त्रालयबाट कुनै निम्तो नआएकोले श्रेष्ठ कार्यक्रममा सहभागी हुन गएनन्।
‘हाम्रो अर्थमन्त्री कार्यक्रममा सहभागी हुने तर यहाँबाट कुनै जानकारी नआउने हुँदा कसरी सहभागी हुन जाने भन्ने भयो?,’ एफएनसीसीआई स्रोतले भन्यो, ‘नेपालको निजी क्षेत्रलाई राख्दा अझ राम्रो हुन्थ्यो। तर, सरकारले किन चाहेन हामीले जान्ने कुरा भएन ?’
एफएनसीसीआईसँग किन रुष्ट छन् अर्थमन्त्री ?

एफएनसीसीआईका अध्यक्ष श्रेष्ठले नाडा अटोशोको उद्घाटन मन्तव्यमा व्यवसायीको मनोबल ३६ वर्षयताकै सबैभन्दा कमजोर रहेको बताएका थिए।
उनले भनेका थिए, ‘मेरो ३६ वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु। समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिन छ, व्यवसायी कठिन अवस्थामा छन्। व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा छ।’
उनले बन्द रहेका सरकारी संस्थान चलाउने निर्णयको पनि आलोचना गरेका थिए।
सरकारले दशकौंसम्म बन्द उद्योग खोल्दै गर्दा चलिरहेका उद्योगको अवस्था के छ भन्नेमा ध्यानै नदिइएको गुनासो गर्दै उनले भनेका थिए, ‘भुइँको टिप्दा पोल्टाको खस्ला भन्नेमा सचेत गराउन चाहन्छु।’
भदौ ९ गते राखेको यही मन्तव्य नयाँ सरकारलाई बिझाएको स्रोतले बतायो। यो भनाइपछि अर्थमन्त्री वाग्ले श्रेष्ठप्रति सकारात्मक नभएको स्रोत बताउँछ।
त्यसको पटाक्षेप नेपाल आर्थिक पत्रकार समाज (सेजन) को साधारणसभामा भएको थियो। साधारणसभामा उनै अध्यक्ष श्रेष्ठले बन्द कोठामा छलफल गरेर अर्थतन्त्रमा सुधार नहुने धारणा राखेका थिए।
त्यहीँ अर्थमन्त्री वाग्लेले जवाफ दिँदै भनेका थिए,’कुनै पनि नीति नियम बनाउँदा बन्द कोठामै छलफल गर्ने हो। खुलामञ्चमा छलफल हुँदैन अन्जनजी।’
स्रोतका अनुसार अर्थमन्त्री वाग्लेले एफएनसीसीआई अध्यक्ष श्रेष्ठले सरकारको आलोचना गरेको भन्दै केही व्यवसायीलाई समेत गुनासो गरेका थिए।











