काठमाडौं । सेयर बजार घट्दा सरकारको आम्दानीमा गिरावट आएको छ। सरकारले सेयर कारोबारबाट आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा १ अर्ब २५ करोड ७६ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ।
यो रकम पोहोर दुई महिनाको तुलनामा ५४.४२ प्रतिशत कम हो। गत वर्ष साउन र भदौमा सेयर कारोबारबाट सरकारले २ अर्ब ७५ करोड ७९ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो।
सीडीएससीका अनुसार यो वर्ष भदौमा ६३ करोड २७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ। यो रकम पोहोर भदौभन्दा ५.२० प्रतिशत धेरै हो। गत वर्ष भदौमा सेयर किनबेचबाट सरकारले ६० करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो।
पोहोर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण राजनीतिक अनिश्चितताले बजार एक साता बन्द भएको थियो।
गत वर्ष भदौमा कारोबार बन्द हुँदा सरकारको आम्दानी घटेकामा यस पटक सूचकसँगै कारोबार घटेको हो।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकर साढे दुई प्रतिशतले बढाएको थियो। बजार घटेका कारण पुँजीगत लाभकर बढाउँदा समेत सरकारको आम्दानी आधाभन्दा बढीले घटेको हो।
बजार लगातार घटेपछि बजेटबाट बढाएको पुँजीगत लभाकर सरकारले घटाएको छ। अहिले एक वर्ष अवधिको होल्डिङ गरेर बिक्री गरेको सेयरबाट प्राप्त नाफामा ३.५ र एक वर्षभन्दा बढी अवधि होल्ड गरेर प्राप्त नाफामा ५ प्रतिशत कर तिर्नुपर्ने बनाइएको छ।
चालु वर्ष साउनमा केही उकालो लागेको बजार अहिले फेरि घटेर २६४७ विन्दुमा आएको छ।











