काठमाडौं । काठमाडौंको टंगाल स्थित भाटभटेनी सुपर स्टोर असोज ५ गतेदेखि औपचारिक रुपमा पुनः संचालनमा आउने भएको छ।
सोमबार बिहान ८ बजेदेखि स्टोरले दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिए।
गत वर्ष जेनजी आन्दोलनका क्रममा सो स्टोरसँगै अन्य आउटलेटहरुमा आगजनी र तोडफोड गरिएको थियो। ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि रोकेको थिएन। साथै, कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा समेत कुनै असर परेको थिएन।
आगजनीको पाँच महिनामै पूर्णरुपमा जलेको कोटेश्वरस्थित स्टोर संचालनमा ल्याइएको थियो। हालसम्म आगजनीले ध्वस्त भएका १२ मध्ये १० वटा स्टोर पुनः संचालन भइसकेको छ। बाँकी रहेका दमक र हेटौंडाका स्टोरहरु पनि पुनःनिर्माणको अन्तिम चरणमा रहेको र छिट्टै संचालनमा ल्याइने जनाइएको छ।
कम्पनीले काठमाडौंमा संचालनको तयारीमा रहेको बाल अस्पतालका लागि दिने भनेको सहयोग पनि दिएर स्टोर संचालनमा ल्याउन पाउँदा खुसी लागेको जनाएको छ। त्यस अस्पतालका लागि भाटभटेनीले ७१ करोड बढी रकम खर्च गरेको जनाइएको छ।
कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको जनाएको छ।











