कम्युनिष्ट पार्टीलाई सुदृढ गर्दै नेतृत्वदायी भूमिकामा फर्काउने अभियानमा छौं : वर्षमान पुन

बिजमाण्डू
२०८३ असोज ३ गते १६:२५ | Sep 19, 2026
कम्युनिष्ट पार्टीलाई सुदृढ गर्दै नेतृत्वदायी भूमिकामा फर्काउने अभियानमा छौं : वर्षमान पुन


काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले मुलुकको नेतृत्व फेरि कम्युनिष्ट शक्तिको हातमा ल्याउने गरी आफूहरू अघि बढिरहेको बताएका छन्।

Vigo
GBIME
Tata

शनिबार नेकपाको खानीखोला गाउँपालिका सम्पर्क समिति काभ्रेको भेलालाई सम्बोधन गर्दै पुनले विचार र एजेन्डा मिल्ने कम्युनिष्ट शक्तिबीच एकता तथा संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।

उनले नेकपाको विभाजनले कम्युनिष्ट शक्तिप्रति निराशा बढाएको र त्यसकै पृष्ठभूमिमा गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा त्यसपछिको हिंसात्मक घटना भएको बताए। ‘नेकपा हुँदा गठबन्धन गरेर बहुमत ल्यायौँ, त्यसलाई टिकाउन सकेनौँ । नेकपाको बहुमत नटिकेकै कारण कम्युनिष्टले पनि सकेनन् भन्ने निराशा भयो,’ उनले भने।

पुनले नेकपालाई सम्मेलन वा महाधिवेशनमार्फत पुनर्गठन र सुदृढ गर्दै अन्य वाम घटकसँग एकताको प्रक्रिया अघि बढाउने बताए। ‘नेपाली कम्युनिष्ट पार्टीलाई सुदृढ गर्नैपर्छ । हामी गर्छौं । त्यतिले मात्र पुग्दैन, एजेन्डा मिल्ने विभिन्न वाम घटकसँग सहकार्य गर्ने र त्यसलाई एकतासम्म रुपान्तरण गर्नुपर्छ,’ उनले भने।

उनले संविधान र व्यवस्थामाथिको प्रहार रोक्न कांग्रेस, मधेस केन्द्रित दललगायत संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।

पुनले भदौ २३ गते सुरु भएको जेनजी आन्दोलन भोलिपल्टसम्म पुग्दा ‘हाइज्याक’ भएको दाबी गर्दै त्यसमा भूराजनीतिक चलखेल र घुसपैठ भएको बताए। ‘२४ गतेसम्म जाँदा त्यो आन्दोलन हाइज्याक भयो । भू–राजनीतिक चलखेल, द्वन्द्व, घुसपैठ भयो,’ उनले भने।

अमेरिका, चीन र भारतबीचको बढ्दो प्रतिस्पर्धाले नेपालजस्ता मुलुकमाथि चुनौती थपिएको भन्दै उनले कूटनीतिक सन्तुलन कायम गर्नुपर्ने बताए। ‘देश रह्यो भने आन्तरिक राजनीतिक प्रतिस्पर्धा त गर्दै गरौँला नि,’ उनले भने।

पुनले युवासँग स्थापित दलको सम्बन्ध कमजोर भएको स्वीकार गर्दै उनीहरूलाई मतदाताका रूपमा मात्र हेर्ने प्रवृत्ति बदल्नुपर्ने बताए। प्रविधिको प्रयोगबाट राजनीतिक प्रशिक्षण र संगठन विस्तार गर्नुपर्ने उनको भनाइ थियो।