कृष्णभीरको बाटो खुलेपछि ग्यास बुलेटको लर्को, काठमाडौं र धादिङका प्लान्टमा सिलिण्डर धमाधम भरिंदै

बिजमाण्डू
२०८३ असोज १ गते १९:०१ | Sep 17, 2026
कृष्णभीरको बाटो खुलेपछि ग्यास बुलेटको लर्को, काठमाडौं र धादिङका प्लान्टमा सिलिण्डर धमाधम भरिंदै


काठमाडौं। कृष्णभीरको सडकबाट बुलेट आउन थालेपछि काठमाडौं वरपरका बोटलिङ प्लान्टमा ग्यास भरेर बिक्री हुन थालेको छ। धादिङ, बनेपा, दक्षिणकाली लगायत क्षेत्रमा रहेका प्लान्टले १८ दिनपछि ग्यास भरेर सिलिण्डर बिक्री गर्न थालेका हुन्।

Vigo
GBIME
Tata

‘हामीले तीन बुलेट ग्यास बनेपाको प्लान्टमा भरेर बिक्री गर्न थालिसकेका छौं,’ सगरमाथा ग्यासका अध्यक्ष एवं ग्यास उद्योग संघका पूर्वअध्यक्ष सावरमल अग्रवालले बिजमाण्डूसँग भने, ‘अब तराईबाट भरेर ल्याउनुपर्ने बाध्यता अन्त्य भयो।’

सगरमाथाले सगर ब्राण्डमा ग्यास बिक्री गर्छ।

कृष्णभीरको सडकबाट काठमाडौं भित्रिने बुलेटको लर्को लागेका कारण तथा आयात कम हुन नदिन उद्योगमन्त्री दीपक साह आफैं सक्रिय भएका कारण काठमाडौंमा देखिएको अभाव चाँडै हट्नेमा आशावादी छन्।

‘नयाँ मन्त्रीज्यूले सुरुदेखि नै ग्यास अभाव हटाउन आफ्नो सबै ध्यान केन्द्रित गरिरहनुभएको छ। बरौनीबाट ग्यास लोड कम भएको थाहा पाउनेबित्तिकै आयल निगमका प्रतिनिधि नै त्यहाँ खटाउनुभएको छ,’ अग्रवालले भने, ‘आजै त्यहाँबाट ४५ बुलेट लोड भएको जानकारी आएको छ। आयातमा र बाटोमा कुनै समस्या नभएमा केही दिनमै अभाव अन्त्य हुनेछ।’

उद्योगमन्त्री साहले अभाव अन्त्यका लागि दैनिक १५० बुलेट ग्यास ल्याउने बताएका थिए। त्यही रफ्तारमा ग्यास आउने संकेत देखिइसकेको छ। उनी आउनेबित्तिकै बरौनीबाट ग्यास बढी लोड हुन थालिसकेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले दैनिक ६ बुलेटमा झारिसकेको लोडिङ बिहीबार ४५ बुलेट पुर्‍याएको छ।

एसजी समूहका अध्यक्ष एवं ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे कृष्णभीरको सडक खुलेको जानकारी पाउनेबित्तिकै अभाव आधा कम भएको बताउँदै अहिलेकै हिसाबले ग्यास आए केही दिनमै अभाव हट्ने दाबी गर्छन्।

‘हामीले आजसम्म तराईबाट ग्यास ल्याइरहेका थियौं। अब कृष्णभीरको सडक खुल्नेबित्तिकै काठमाडौंमा धमाधम बुलेट आइरहेका छन्। यही रफ्तारमा बुलेट आएमा अभाव हट्न समय लाग्दैन,’ उनले भने, ‘दसैंसम्म कृष्णभीरकव बाटो खुल्दैन कि भनेर मान्छेले भए भरका सिलिण्डर बाहिर ल्याउँदा अभाव चर्किएको हो। समस्या एउटा मात्रै सिलिण्डर हुनेलाई मात्रै थियो। बुलेट धमाधम आएन थालेकाले रित्ता सिलिण्डर भर्न धेरै दिन लाग्दैन।’

एसजी ग्रुप अन्तर्गत काठमाडौंमा एभरेष्ट र धादिङमा सुगम ग्यास छ। यी दुई कम्पनीले मात्रै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मासिक १ लाख ६० हजार सिलिण्डर ग्यास बिक्री गर्छन्।

श्रीकृष्ण ग्यासले धादिङको प्लान्टमा ग्यास भर्न थालिसकेको छ। ‘हामीले चितवनमा भरेको ग्यास हेटौंडा हुँदै कान्ति लोकपथबाट काठमाडौं ल्याएर बेचिरहेका थियौं। अब धादिङको विशालटारमा रहेको प्लान्टबाट ग्यास भरेर काठमाडौंम बेच्दा धेरै चाँडो पुर्‍याउन सक्छौ,’ उद्योगका सञ्चालक विवेक डल्लाकोटीले भने, ‘यो अभाव हटाउन धेरैभन्दा धेरै बुलेट ल्याउन आवश्यक छ। आयल निगमले पनि प्राथमिकतामा राखेर काम गरिरहेको छ।’

ओम ग्यासले धादिङमा रहेको प्लान्टमा शुक्रबारदेखि ग्यास भर्न सुरु गर्नेछ। ‘दुई वटा बुलेट चितवनबाट आउँदैछन्। त्यो आज रातीसम्म आइपुग्छ होला,’ उद्योगका सञ्चालक हरि पाठकले भने, ‘हामी भोलिदेखि भरेर काठमाडौंमा ग्यास बिक्री गर्न थाल्छौं।’

ओम ग्यास काठमाडौंमा मासिक ५० हजार सिलिण्डर बिक्री हुन्छ। डिलर व्यवस्थापनमा अब्बल देखिएको यो कम्पनीको ग्यास उपयोग गर्ने उपभोक्ताले अहिलेको चर्को अभावमा खासै समस्या देखिएको थिएन।

धादिङमै रहेको सीता ग्यासले दुई दिनअघि नै प्लान्ट संचालनमा ल्याइसकेको छ। ‘अस्ति ट्रायल गर्दा हाम्रो ग्यास बोकेर ल्याएको बुलेट परेछ। त्यो दिन आएपछि हामीले भरेर काठमाडौं पठाइसकेका छौं,’ सीता ग्यासका अध्यक्ष सीताराम तिमिल्सिनाले भने, ‘त्यसबाहेक अरु दुईवटा बुलेट आएकामा सिलिण्डरमा भरेर बिक्री गरिसकेका छौं।’

उपत्यकामा सबैभन्दा ग्यास बिक्री गर्ने नेपाल ग्यासले अभाव अन्त्यका लागि काठमाडौं र चितवन दुवैतर्फ ग्यास भर्दैछ।

नेपाल ग्यासका प्रबन्ध निर्देशक एवं संघका पूर्वअध्यक्ष गोकुल भण्डारीले कृष्णभीरबाट बुलेट धमाधम आउन थाले पनि अभाव चाँडै अन्त्यका लागि चितवनमा समेत भर्ने कामलाई पनि निरन्तरता दिने बताए।

‘हाम्रो ५ वटा बुलेट ग्यास काठमाडौं आउँदैछ। हामी बालाजुमा भोलिदेखि सिलिण्डरमा भर्न सुरु गर्छौं। चितवनमा भर्ने कामलाई पनि अहिले रोक्दैनौं,’ भण्डारीले भने, ‘बाटोका कारण उपभोक्ताले बेहोर्नुपरेको अभाव सक्दो चाँडो अन्त्यहोस भन्ने हाम्रो चाहना छ।’

चितवनमा सिलिण्डर भर्दा कम्पनीलाई घाटा हुन्छ। ‘हामी अहिले २५/३० लाख घाटा हेर्ने भन्दा पनि उपभोक्तालाई सक्दो चाँडो ग्यास दिने पक्षमा छौं,’ भण्डारीले भने।

उद्योगीहरुले कृष्णभीरबाट बुलेट आउन थालेपछि ग्यासको मूल्य घटाइसकेका छन्। उनीहरुले पुरानै मूल्य अर्थात प्रति सिलिण्डर २०६० रुपैयाँमा ग्यास बेच्न थालेका हुन्।

उद्योगमन्त्रीको पनि ‘पोजेटिभ एप्रोच’

साहले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हाल्नेबित्तिकै उद्योगीहरुलाई बोलाएर ग्यास अभाव हटाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए।

‘उहाँ जलविद्युत क्षेत्रमा काम गरेकाले पनि समन्वयकारी भूमिका निभाउनसक्ने हुनुहुँदो रहेछ। उहाँको एप्रोचले पनि धेरै पोजेटिभ भएको छ,’ संघका निर्वतमान अध्यक्ष घिमिरेले भने, ‘भारतबाट समेत ग्यास बढी ल्याउन लाग्नुभएको छ। त्यसको रिजल्ट पनि आइसकेको छ।’

घिमिरे प्राकृतिक विपत्तिका बेलामा निजी क्षेत्रसँग सहकार्य गरेमा समस्या समाधान हुने धारणा राख्छन्। ‘हामीले नाकाबन्दीको समयमा पनि चीनबाट ग्यास ल्याउन पहल गरेका थियौं। देशलाई संकट परेका बेला सरकार र निजी क्षेत्र भन्ने हुँदैन,’ उनले भने, ‘देश र जनताप्रतिको दायित्व हाम्रो पनि हो। त्यही भएर कृष्णभीरको सडक भासिनेबित्तिकै आयल निगममा बसेर तराईका प्लान्टमा ग्यास भर्ने निर्णय गरेका थियौं। हामीले त्यसमा नाफा घाटा हेरेनौं।’