काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को साता भेट हुने लगभग तय भएको छ। अर्को साता सी राजकीय भ्रमणका क्रममा वासिङटन पुग्दैछन्।
यो भ्रमणका क्रममा हुने छलफलमा यसपटक राजनीतिक र व्यपारिक विषयमात्रै प्रमुख एजेन्डा हुनेछैनन्। प्रविधि क्षेत्रमा तिव्र विकास र एआईको त्रास पनि दुवै नेताबीचको छलफलको मुख्य विषय बन्ने भएको छ।
पछिल्लो समय एआईले आउने दशकमा नै मानिसको ज्यान लिन सक्ने भन्दै गरिएको दाबीबीच यो भेट हुन लागेको हो। यो दाबी विश्वभर भाइरल भइरहँदा एआई नियमनको पक्ष र विपक्षमा टेक जायन्टहरु देखिएका छन्।
एआईको निर्माण र प्रयोगमा पनि अमेरिका र चीनबीच प्रतिस्पर्धा छ। अमेरिकाले चीनले गर्दै आएको प्राविधिक विकास र एआई उत्पादन रोक्न प्रयास गरिरहेको छ। उसले चिनको चिप्स निर्यातमा नियन्त्रण गर्न खोजिरहेको छ। यसअघि नै धेरै चिनियाँ प्रविधि अमेरिकीमा प्रतिबन्धित छन्।
अमेरिका र चीनबीचको प्रतिस्पर्धा र एआईलाई लिएर हालै देखिएको विवादले यसको विकासलाई सुस्त बनाउनु हुन्छ कि हुँदैन भन्नेमा अहिले विश्वभर चर्चा पनि भइरहेको छ। यही बेला नै सी र ट्रम्पले एआईको विकास र नियमनबारे पनि चर्चा गर्ने भएका हुन्।
अर्को साता हुने सीको भ्रमणका ट्रम्पसँगै एआई उत्पादन गर्ने कम्पनीका प्रमुखहरुसँग पनि साइडलाइन वार्ताको तयारी भइरहेको छ। तर, हालसम्म यो वार्ता तय भइसकेको छैन। ट्रम्प प्रशासनले टेक कम्पनीहरुसँग यसबारेमा छलफल गरिरहेको बताइएको छ।
केही टेक जायन्टका प्रमुखहरु भने ट्रम्पले सीका लागि आयोजना गर्ने स्टेट डिनरमा पनि सहभागी हुने तय भइसकेको छ।











