शेखर कोइरालाको प्रश्न : कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन्?

बिजमाण्डू
२०८३ असोज १ गते १४:०१ | Sep 17, 2026
शेखर कोइरालाको प्रश्न : कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन्?


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि अपिल गर्दै आफू संस्थापन र इतर दुवै पक्षमा नउभिने बताएका छन्।

Vigo
GBIME
Tata

उनले बिहीबार विज्ञप्ति जारी गर्दै आफू अहिले को ठिक र को बेठिक भनेर वकालत गर्ने पक्षमा नरहेको भन्दै आफ्‌नै साथीभाईमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महल माथि नबस्ने बताएका छन्।

‘म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिन। म को ठिक, को बेठिक, भनेर वकालत कसरी गर्न सक्छुु? कांग्रेस हुँ भन्ने तर आफ्‌नै साथीभाई माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महल माथि म बस्न सक्दिन। कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनी विजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ होला,’ उनले भनेका छन्।

उनले पार्टीमा हिले मध्यमार्ग आवश्यक रहेको भन्दै सबैको एकताबद्ध प्रयत्नबाट मात्र यो सम्भव रहेको उल्लेख गरेका गरेका छन्।

‘म गाउँ टोलदेखि केन्द्र हुँदै विदेशसम्म बस्ने साथीहरुलाई पार्टीलाई एकताबद्घ राख्न दृढ संकल्पका साथ पार्टी एकतामा जुट्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।

शेखरले कांग्रेस अहिले अरुबाट परिचालित भएको गम्भीर आरोप समेत लगाएका छन्। ‘दुःखका साथ भन्नुपर्छ यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन् मलाई थाहा छैन। मलाई यसबाट पीडा छ र मेरो पीडासँग तमाम कार्यकर्ता साथीहरुको भावना जोडिएको छ,’ उनले भनेका छन्।

उनले दुुई पक्षले गर्न लागेको फरक फरक महाधिवेशनले देशको राष्ट्र्रियता र लोकतान्त्रिक आन्दोलनमा नै आघात पार्ने उल्लेख गर्दै महाधिवेशन रोक्न आग्रह गरेका छन्।

‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुुई महाधिवेशनबाट यो देशको राष्ट्र्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो। यो रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं,’ उनले भनेका छन्।

शेखरले देश विपद्‍बाट गुज्रिरहेको अवस्थामा कांग्रेस राष्ट्र्रिय दायित्वबाट विमुख भएको आरोप समेत लगाएका छन्। ‘नेपाली जनता रोइरहेका छन, सर्वसाधारणहरु चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुुमाएर चेतनाशून्य भएर बसेका छन्। उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौं? हामी के गर्दैछौं? हामी किन मानवीय संवेदनासँग खेलवाड गर्दैछौं? कांग्रेस यसरी आफ्नो राष्ट्र्रिय दायित्वबाट विमुख भइरहँदा भावी पुस्तालाई कसरी आफूसँग जोड्न सक्छौं?,’ विज्ञप्तिमा भनिएको छ।