भृकुटीमण्डपमा सुरु भयो जग्गा तथा आवास प्रदर्शनी, सस्तो मूल्यमा घरदेखि वास्तु र इन्टेरियरसम्म

बिजमाण्डू
२०८३ असोज १ गते १२:४७ | Sep 17, 2026
भृकुटीमण्डपमा सुरु भयो जग्गा तथा आवास प्रदर्शनी, सस्तो मूल्यमा घरदेखि वास्तु र इन्टेरियरसम्म


काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ सुरु भएको छ। ४ दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले गरेका हुन्।

Vigo
GBIME
Tata

नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बरसँगको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेको हो।

प्रदर्शनीमा १०० भन्दा बढी स्टल छन्। घर खरिदबिक्रीसँगै घरका लागि चाहिने निर्माण र सज्जाका सामाग्रीको प्रदर्शनीसँगै परामर्श लिन पाइने व्यवस्था मेलामा रहेको आयोजकले जनाएका छन्।

प्रदर्शनी संयोजक रोशन भोयद्योका अनुसार प्रदर्शनीमा हाउजिङ तथा अपार्टमेन्ट व्यवसायी, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, ग्लास, पेन्ट्स, सेनिटरी, पाइप तथा फिटिङ्स, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्वेस्टिङ, फोहोर व्यवस्थापन, सुरक्षा प्रणाली, स्वचालन प्रविधि, प्रिफ्याब तथा युपिभिसी ढोका–झ्याललगायतका कम्पनी तथा व्यवसायी सहभागी छन्।

बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, इन्जिनियरिङ तथा वास्तुकला परामर्श र निर्माण व्यवसायसँग सम्बन्धित संस्थाको समेत सहभागिता रहेको छ। नेपालसँगै भारतका कम्पनी तथा व्यवसायी पनि मेलामा सहभागी छन्।

प्रदर्शनीलाई घरजग्गा खरिद–बिक्रीमा मात्र सीमित नगरी सुरक्षित, व्यवस्थित र वातावरणमैत्री आवास निर्माणसम्बन्धी जानकारी तथा परामर्शको थलोका रूपमा विकास गर्न खोजिएको छ। भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञले अवलोकनकर्तालाई निःशुल्क परामर्श दिने कार्यक्रम पनि रहेको छ।