टीयू क्रिकेट मैदानमा नेपालले बंगलादेशसँग सिरिज खेल्ने, चैतमा तोकियो मिति

बिजमाण्डू
२०८३ भदौ ३१ गते १९:४० | Sep 16, 2026
टीयू क्रिकेट मैदानमा नेपालले बंगलादेशसँग सिरिज खेल्ने, चैतमा तोकियो मिति
२०२४ विश्वकपका दौरान नेपाल र बंगलादेशका खेलाडी। तस्बिर: आईसीसी


काठमाडौं। नेपाली क्रिकेट टोलीले बंगलादेशसँग टी-२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले नेपालमा हालै आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूप्रति समर्पित गर्दै नेपाल र बंगलादेशबीचको आगामी टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने घोषणा गरेका हुन्।

Vigo
GBIME
Tata

नेपाल र बंगलादेशबीच ऐतिहासिक रूपमा सुमधुर जनस्तरीय सम्बन्ध रहँदै आएको उल्लेख गर्दै क्यान र बीसीबीले क्रिकेटलाई दुई देशका जनतालाई जोड्ने माध्यमका रूपमा प्रयोग गर्ने बताएका छन्।

नेपाल र बंगलादेश सिनियर स्तरमा दुईवटा विश्वकपमा भिडिसकेका छन्। सन् २०१४ र २०२४ मा यी दुई टोली आमनेसामने हुँदै दुबै खेलमा बंगलादेशले नतिजा आफ्नो पक्षमा पारेको थियो। सन् २०२६ को विश्वकपमा पनि नेपाल र बंगलादेश दुबै एकै समूहमा परे पनि बंगलादेश पछि हट्दा उसको स्थानमा स्कटल्याण्डले विश्वकप खेलेको थियो।

यस सहकार्यलाई सिरिजमा मात्र सीमित नराखी नेपालको समग्र क्रिकेट विकासमा दीर्घकालीन सहयोगका रूपमा अघि बढाउने तयारीसमेत गरिएको छ। बीसीबीले नेपालको महिला क्रिकेट, उमेर समूहको क्रिकेट विकास तथा विभिन्न विकास कार्यक्रमहरूमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। भविष्यमा नेपाल ‘ए’ टोलीको भ्रमण तथा क्रिकेटसम्बन्धी ‘ए’ टोलीको भ्रमणलाई समेत प्रोत्साहन गर्ने बताइएको छ।

क्यानका अनुसार तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज मार्च २०२७ (चैत) मा हुनेछ। पहिलो खेल चैत १२ गते, दोस्रो १४ गते र तेस्रो खेल १६ गते हुनेछ। नेपालले यसअघि कुनै पनि टेस्ट मान्यताप्राप्त टोलीसँग घरेलु मैदानमा खेलेको छैन। यसअघि वेस्टइण्डिजविरुद्ध यूएईमा भने खेलेको थियो।