काठमाडौं। बाढी र पहिरोका कारण जलविद्युत् आयोजनाहरुमा क्षति पुगेर विद्युत् अभाव झेलिरहेको नेपालले भारतबाट बिजुली आयात गर्न स्वीकृति पाएको छ।
यस अगाडि भारतले सोलार आवरमा बिजुली किन्न अनुमति दिँदै आएको थियो। सोमबार भने भारतको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई दैनिक १८ घण्टा (राति १२:०० बजेदेखि साँझ ६:०० बजेसम्म) बिजुली उपलब्ध गराउने निर्णय गरेको हो।
भारतीय पत्र सूचना कार्यालय (पीआइबी) ले जारी गरेको विज्ञप्ति अनुसार यो अनुमति सन् २०२६ सेप्टेम्बर १३ देखि डिसेम्बर ३१ सम्मका लागि लागू हुनेछ। डिसेम्बरपछिका लागि भने भारतबाट फेरि आयात नवीकरण हुनुपर्छ।
भारतले आयात गर्न दिएको अनुमतिले हिउँदको भार व्यवस्थापन गर्न थप सहज हुने भारप्रेषण केन्द्रका प्रमुख अच्युतबाबु घिमिरेले बताए।
‘भोटेकोशी बाढीले गर्दा केही प्रेसर थियो। तर, भारतले बिजुली किन्न अनुमति दिएपछि लोड व्यवस्थापनमा सहज हुन्छ।’
भारतले मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारणलाइनबाट ६०० मेगावाटसम्म र टनकपुर-महेन्द्रनगर १३२ केभी सिंगल सर्किटबाट ५४ मेगावाट गरि कुल ६५४ मेगावाट आयात गर्न अनुमति दिएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नेपालका विभिन्न जलविद्युत् आयोजनाहरूमा क्षति पुगेर ४३१ मेगावाट बिजुली उत्पादनमा गिरावट आएको छ।
सन् २०२७ जनवरीदेखि कति परिमाणमा बिजुली निर्यात गर्ने भन्ने विषयमा भने सन् २०२६ को डिसेम्बरमा पुनः समीक्षा गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।
सुख्खायाममा नेपालका नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको बिजुली करिब एकतिहाइले घट्छ। त्यसैले हिउँदको समयमा लोड व्यवस्थापन गर्न प्राधिकरणले भारतबाट बिजुली किन्दै आएको छ। वर्षातको समयमा भारतीय र बंगलादेशमा बिजुली निर्यात गर्ने गरेको छ।









