विराटनगर । कोशी प्रदेशका व्यवसायीले नेपाल अल्पविकसितबाट विकसित मुलुकमा स्तरोन्नति हुँदै गर्दा अवसर सँगसँगै चुनौती पनि थपिने बताएका छन्।
व्यवसायीले स्तरोन्नति पछिका चुनौती सामना गर्न अहिलेबाटै तयारी सुरु गर्नुपर्ने कुरामा जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशीको आयोजनामा भएको कार्यशालाका सहभागीले स्तरोन्नति पछिका चुनौती बारे छलफल गरेका हुन्।
महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले विशेषगरी महिला उद्यमीले संचालन गरेका साना तथा मझौला उद्यमलाई स्तरोन्नतिपछि समस्या पर्नसक्ने उल्लेख गर्दै यसका प्रभाव, बजार, लगानी, उत्पादन तथा प्रतिस्पर्धाका विषयमा अहिलेदेखि नै रणनीति बनाउनु पर्ने बताए।
राउतले भने, ‘नेपालका महिलाले साना तथा मझौला उद्योग मार्फत् उत्पादन गरेका विविध सामग्रीले देशको पहिचान बोकेका छन्। त्यसैले यस्ता उद्योग र उद्यमीलाई स्तरोन्नतिपछि पनि संरक्षण र संचालन गर्न अहिलेदेखि नै रणनीति बनाउनु पर्छ।’
महासंघका महिला उद्यमी सभापति कृति श्रेष्ठ उपाध्यायले विकासशील मुलुकमा स्तरोन्नतिको प्रक्रियालाई अवसरका रूपमा उपयोग गर्न महिला उद्यमीले आफ्नो उत्पादन, बजार, प्रविधि र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने कुरामा जोड दिइन्।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले नेपाली उद्यमीले आफ्ना उत्पादनको प्रवर्धन गरिरहेको भए पनि भारतसँगको खुला सीमाका कारण प्रतिस्पर्धामा समस्या भइरहेको उल्लेख गरे।
मोरङ उद्योग व्यापार संघकी श्रुति शर्माले महिला उद्यमीले संचालन गरेका उद्यमलाई वित्तीय पहुँच सहज बनाउनुपर्नेमा जोड दिइन्।
त्यस्तै, परामर्शदाता भोजराज पौडेलले नेपालको स्तरोन्नतिको प्रक्रिया, संयुक्त राष्ट्रसंघमा अघि बढाइएको एजेन्डा, सम्भावित प्रभाव तथा निजी क्षेत्रको भूमिकाबारे जानकारी गराए।
मोरङको लेटाङ उद्योग वाणिज्य संघकी कुमारी थापा गुरुङले आफूले संचालन गरिरहेको ब्याग उद्योगमा लगानी तथा बजारीकरणको समस्या रहेको स्पष्ट पार्दै स्तरोन्नतिले आफ्नो व्यवसायमा पार्ने प्रभावबारे जिज्ञासा प्रकट गरिन्।
कार्यक्रममा विराट बायोटेकका संचालक ढुण्डी ढकालले स्तरोन्नतिले निर्यात क्षेत्रमा पार्नसक्ने प्रभावबारे प्रश्न गर्दै राज्यको लगानी आयात प्रतिस्थापन तथा स्वदेशी उत्पादन प्रवर्धनमा केन्द्रित हुनुपर्ने जिकिर गरे।
महासंघ तथा जिआईजेडका टिम लिडर रोशन नेपालले एलडीसीबाट स्तरोन्नतिपछि नेपालका उद्योग तथा व्यवसायमा पर्न सक्ने प्रभावसम्बन्धी अध्ययन प्रस्तुत गर्दै यसबारे समयमै सचेतना अपनाएर उपायका काम गर्नुपर्ने सुझाव दिए।
कार्यशालामा कोशीका १५० व्यवसायीको सहभागिता थियो।











