मानसरोवर यात्राको पिक सिजनमै बाढीले प्रहार, सवा अर्बको व्यवसाय एक निमेषमै गुम्यो



जनक वली
२०८३ भदौ २३ गते २१:२६ | Sep 8, 2026
मानसरोवर यात्राको पिक सिजनमै बाढीले प्रहार, सवा अर्बको व्यवसाय एक निमेषमै गुम्यो


काठमाडौं। मानसरोवर र कैलाश पर्वतको यात्रा गराउने ट्राभल व्यवसायमा भोटेकोशी नदीमा आएको बाढीले गम्भीर धक्का लागेको छ। बाढीले एक महिनामै सवा अर्ब रुपैयाँको व्यवसाय गुमेको छ।

Vigo
GBIME
Tata

नेपालबाट मानसरोवर जाने मुख्य नाका रसुवागढी नाका ध्वस्त भएपछि तथा तातोपानी नाका पनि चीनले बन्द गरेपछि तीर्थयात्रीले बुकिङ धमाधम रद्द गर्न थालेका छन्।

बाढीले मुख्य बाटो नै कोल्याप्स बनाइ रसुवा र नुवाकोटमा जनधनको ठूलो क्षति भएपछि तीर्थयात्रीले मानसरोवर जाने बुकिङ धमाधम रद्द गराएका हुन्। व्यवसायीहरुका अनुसार सेप्टेम्बर महिनाका लागि भएका बुकिङमध्ये करिब तीन हजार रद्द भइसकेको छ। बुकिङ रद्द गर्नेमा नेपाली र विदेशी दुवै छन्।

तीर्थ र पर्यटन दुवै हिसाबले तिब्बतमा रहेको मानसरोवर र कैलाश पर्वत नेपाल र भारतबाहेकका देशका नागरिक पनि रसुवा नाका हुँदै जाने गरेका थिए।

मानसरोवर र कैलाश पर्वत यात्राका गर्न चाहनेसँग ट्राभल एजेन्सीले पर्यटक अनुसार १० देखि १५ दिनको प्याकेजको २ हजार देखि ४ हजार डलरसम्म लिने गरेका थिए। उनीहरुले भारतीय पर्यटकसँग अढाइ लाख भारु लिने गरेका थिए।

औसतमा एक पर्यटकको ४ लाख रुपैयाँका दरले ३ हजार जनाले बुकिङ रद्द गर्दा १ अर्ब २० करोड रुपैयाँको व्यवसाय बाढीले चौपट भएको हो।

कैलाश टुर अपरेटर्स नेपालका महासचिव प्रदीप पण्डितले कैलाश मानसरोवर जान चाहनेमध्ये ७० प्रतिशत पर्यटकले बुकिङ रद्द गरिसकेको बताए।

‘भोटेकोशी बाढीपछि बुकिङ धमाधम रद्द भएको छ। अहिलेसम्म ७० प्रतिशतले बुकिङ क्यान्सिल गरिसकेका छन्। त्यो भनेको ३ हजारभन्दा बढी संख्या हुन्छ,’ उनले भने, ‘पिक सिजनमै बुकिङ क्यान्सिल हुँदा व्यवसाय चौपटक भएको छ। सवा अर्बको व्यवसाय एक निमेषको बाढीले गुम्यो।’

व्यवसायीहरुले पर्यटकलाई हरेक वर्ष मेदेखि सेप्टेम्बरसम्म मानसरोवर र कैलाश लाने गरेकामा अगस्ट र सेप्टेम्बर पिक सिजन हो।

ट्रेकिङ एजेन्सिज् एसोसिसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पनि मानसरोवर र कैलाश पर्वत यात्रा गराउने आफूहरुको व्यवसाय भोटेकोशीको बाढीले सखाप भएको बताए।

‘कमाउने मुख्य सिजनमै हाम्रो व्यवसाय गुमेको छ। चालकदेखि कुकसम्म बेरोजगार बनेका छन्,’ पाण्डेले भने, ‘बाढीले हामीलाई पारेको असर भनिसाध्य छैन। व्यवसाय नै गुमेपछि कर्मचारी पाल्न धौ धौ हुने स्थिति आएको छ।’

बुकिङ रद्दपछि दुई दर्जनभन्दा बढी ट्राभल एजेन्सी कामविहीन भएका छन् भने सयौंको रोजगारी गुमेको छ। ट्राभल एजेन्सीले आन्तरिक तथा विदेशी पर्यटकलाई २० जनाको समूहमा पठाउँदा त्यसमा चालक, सहचालक, कुक लगायत गरी कम्तिमा पाँच जनाले काम पाउँथे। पर्यटकलाई सघाउनका लागि ट्राभल एजेन्सीले कर्मचारी खटाउने गरेका थिए।

ट्राभल एजेन्सीहरुका अनुसार मानसरोवर यात्रा गर्ने बुकिङ रद्द गर्न दिनदिनै फोन आउने गरेको छ।

‘कैलाश मानसरोवर पुग्ने मुख्य नाका भोटेकोशीको बाढीले क्षतविक्षत भएको छ। विकल्पका रुपमा रहेको तातोपानी नाकाबाट जान अनुमति छैन,’ महासचिव पण्डितले भने, ‘त्यही कारण पर्यटकले बुकिङ धमाधम क्यान्सिल गरेका हुन्।’

रसुवा नाका भदौ १० गतेको बाढीले पूरै बगरमा परिणत भएकामा चीनले बाटो जोखिमपूर्ण रहेको भन्दै तातोपानी नाका पनि १४ गतेदेखि बन्द गरेको छ।

रसुवा नाका ध्वस्त भएका कारण केरुङतर्फ अड्किएका नेपाली र मानसरोवर गएका तीर्थयात्री अहिले तातोपानी नाकाबाट फर्किरहेका छन्।

रसुवाभन्दा छोटो सिमकोट-हिल्सा रुट

रसुवा र तातोपानी नाका दुवै बन्द भएका कारण पर्यटकले बुकिङ रद्द गर्ने क्रम बढेपछि कतिपय ट्राभल एजेन्सीहरु वैकल्पिक रुटतिर लागेका छन्।

केही एजेन्सीले काठमाडौं-ल्हासा उडानमार्फत र नेपालगंज-सिमकोट-हिल्सा हुँदै पर्यटकलाई मानसरोवर र कैलाश पुर्‍याउन थालेका छन्। तर, यी रुटबाट लैजाँदा महँगो पर्छ। काठमाडौं-ल्हासा उडानबाट जाँदा एकतर्फी भाडामै १ लाख हाराहारी खर्च हुन्छ। त्यसैले यी रुटबाट मानसरोवर जानेको संख्या निकै कम छ।

महासचिव पण्डित रसुवा बाढीपछि कैलाश मानसरोवर जान चाहने २० जनाको टोली लिएर सिमकोट पुगेका छन्। यो टोली भोटेकोशीको बाढीपछि मानसरोवर हिंडेको पहिलो हो।

सामान्यतया पर्यटकलाई काठमाडौंबाट नुवाकोट, रसुवा हुँदै १३ दिनको प्याकेजमा मानसरोवर लाने गरिएकामा नेपालगंज-सिमकोट-हिल्सा रुट दुई दिन छोटो पर्ने व्यवसायीहरुको भनाइ छ। नेपालगंजबाट सिमकोटसम्म पुग्न जहाजमा जानुपर्छ। तर, हिमाली क्षेत्रको मौसमका कारण उडान निश्चित हुँदैन।

साथै, सिमकोटबाट अघि बढ्ने सडक कच्ची (अफ-रोड) भएकाले धेरैजसो पर्यटकले यो रुट मन पराउने गरेका छैनन्। ‘नेपालगंज, सिमकोट, हिल्सा रुटबाट मानसरोबर जान रसुवाको बाटो भन्दा २ दिन छोटो पर्छ। तर, मौसमका कारण फ्लाइट नै निश्चित हुँदैन,’ पण्डितले भने, ‘त्यस्तै सडक कच्ची भएकाले धेरैजसो यात्रुको रुचिमा पर्दैन।’