काठमाडौं। बुद्ध एयरले आफ्नो नयाँ सिरिजको एटीआर-७२-६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ।
बुद्ध एयरले ९एन-एओएस कलसाइनको जहाजले शुक्रबार बिहान काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको छ।
जहाजले ६६ यात्रुसहित बिहान ८ बजेर ६ मिनेटमा उडान भरेको कम्पनीले जनाएको छ। कम्पनीले यो जहाज गत साउन ९ गते फ्रान्सको तुलुसबाट नेपाल भित्र्याएको थियो। त्यसपछि आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गर्न र रंगरंगोन गर्न करिब एक महिना लागेको कम्पनीले जनाएको छ।
एटीआर-७२-६०० जहाज पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीले सुसज्जित छ। क्षेत्रीय उडानका लागि प्रयोग हुने जहाजले तुलनात्मक रुपमा इन्धन कम खपत गर्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

जहाजमा आरएनपी-एआर नेभिगेसन प्रणालीसमेत जडान गरिएको छ जसले आवश्यक मापदण्ड र प्रक्रियाअन्तर्गत कम भिजिबिलिटीको अवस्था पनि उडान तथा अवतरणलाई थप सहज बनाउँछ।
यात्रुको सिट, ओभरहेडबिन पहिलेको सिरिजमाभन्दा ठूलो छ। बुद्ध एयरसँग एउटा एटीआर-७२-६०० बाहेक १४ वटा एटीआर-७२-५०० जहाज छन्।










