त्रिभुवन राजपथमा सवारी चाप, १० मिनेटमा एउटा गाडी पास नहुँदा जाम ४ किमि परसम्म



बिजमाण्डू
२०८३ भदौ १६ गते १५:१५ | Sep 1, 2026
त्रिभुवन राजपथमा सवारी चाप, १० मिनेटमा एउटा गाडी पास नहुँदा जाम ४ किमि परसम्म


काठमाडौं। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएर उक्त खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गको रुपमा त्रिभुवन राजपथ प्रयोग गर्न थालिएको छ। तर, उपत्यका आवागमन गर्ने सवारीसाधनको चाप धान्न यो खण्ड सहज पटक्कै छैन।

Vigo
GBIME
Tata

यात्रुवाहक र निजी सवारीको चाप त थियो नै, विकल्प नहुँदा अत्यावश्यक सामाग्री बोकेका सवारीसाधनहरू पनि यो मार्गबाट चलाउन थालिएपछि जाम तन्किएको तन्किएकै छ।

त्रिभुचन राजपथमा १० चक्केभन्दा माथिका सवारीसाधन चलाउन रोक लगाइएको छ। हेभी गाडी आउजाउ गर्न मोड नपुग्ने भएकाले यो खण्डबाट साना र हलुका सवारी चल्न दिइएको प्रहरीले जनाएको छ।

ग्यासका बुलेट उपत्यकाभित्र ल्याउन अप्ठ्यारो भएपछि सिलिन्डरमा रिफिल गरेर अन्य गाडीमार्फत ल्याउन थालिएको छ। तर केही स्थानमा साँघुरो सडक, सवारीको चाप र ठाउँ ठाउँमा पहिरो खसेको कारण समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ। १० मिनेटमा एउटा गाडी पास नहुँदा लामो जाम बढ्दो छ।

आइतबार बिहान पनि ललितपुरमा लामिडाँडा क्षेत्रमा पहिरो जाँदा ग्यास बोकेको गाडी रोकिएका थिए। सुरक्षाकर्मीले पन्छाउने काम गरेर आवागमन सहज बनाउने प्रयास गरिरहेको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले बताए। ‘सवारीको चाप बढेको छ। सडक र भौगोलिक अवस्थाले गर्दा पनि केही स्थानमा भने समस्या देखिएको छ,’ उनले भने।

सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुर, सुरक्षा निकाय र यातायात व्यवसायी बसेर सवारी आवागमन व्यवस्थापनका लागि रूट तयार पारेका छन्। १० चक्केसम्मका सम्पूर्ण मालवाहक तथा ठुला यात्रुवाहक साधानहरु त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जाने र फर्किदा कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था मिलाइएको छ।

त्यस्तै कान्ति राजमार्ग हुँदै हेटौंडा आउने यात्रुवाहक सवारी अनिवार्यरुपमा साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्न चेकपोष्ट पास गरिसक्नुपर्ने रहेको छ।

‘अहिले हामी ट्रायल फेजमा छौं। यो रुढ प्रभावकारी भए यसै गरि काम हुन्छ,’मकवानपुर जिल्ला प्रहरी कार्यालय डिएसपी माधव काफ्लले भने।

१४ सिटभन्दा कम क्षमताका साना सवारीहरूको हकमा भने हेटौंडातर्फ जाँदा फर्पिङ, फाखेल, कुलेखानी हुँदै भीमफेदीतर्फ जानुपर्ने छ। काठमाडौँतिर आउँदा भने भीमभेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको रूट समात्नुपर्ने छ।

त्रिभुवन राजपथको केही स्थानमा साँघुरो बाटो, कल्भर्ट, बेलिब्रिजका कारण एकतर्फी मात्र सवारी सञ्चालन गरिएको छ। भीमफेदी, सुपारीटार नजिकै केही ठाउँमा एकतर्फीका सवारी करिब २० मिनेट जति रोकेर पठाउने गरिएको छ।

‘सानो ठाउँहरूमा २०\२० मिनेट रोकेर एकतर्फी गरिएको छ,’ एसएसपी धमलाले भने।

यसरी एक ठाउँमा विभिन्न कारणले रोकिँदा सवारीको चाप ५ किलोमिटरसम्म पुग्ने गरेको सडकमा खटिएका प्रहरी अधिकृत बताउँछन्।

वैकल्पिक रूपमा प्रयोग गरिएको राजमार्गमा अहिले सवारी चाप छ। योसँगै व्यवस्थापनका लागि उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ। मकवानपुर जिल्लामा कार्यरत बाहेक थप २८ जना प्रहरी खटाएको छ। जसमा ८ जना ट्राफिक प्रहरी छन्। मकवानपुरमा अहिलेसम्म सडकको लागि मात्र १२० जना भन्दाबढी प्रहरी खटाइएको छ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार भएको छलफलमा विभिन्न विकल्पमा सवारी सञ्चालन गर्ने भनिएको छ। अहिलेको अवस्थामा सम्भव नभएको खण्डमा जोर बिजोर लगाउने अवस्था आउने सुरक्षाकर्मीहरु बताउँछन्।

‘अहिले विकल्पमा काम भएको हो। भोलिका दिनमा जोरबिजोर पनि नहोला भन्ने सकिदैन,’ जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने।