काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बसेर चर्चामा आएको चितवनको लटौली स्याङ्चुअरी रिसोर्टको महाप्रबन्धकमा विमल पौड्याल नियुक्त भएका छन्। उनलाई केही दिनअघि होटल व्यवस्थापनले महाप्रबन्धक नियुक्त गरेको हो।
पौड्याल यसअघि धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा महाप्रबन्धक थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशनका बेला बालेन यही रिसोर्टमा बसेका थिए। केही महिनाअघि मात्रै संचालनमा आएको यो रिसोर्ट बालेन बसेपछि चर्चामा आएको थियो।
प्रधानमन्त्रीको बसाइँसँगै रिसोर्टको हाइप भएपछि राम्रो व्यवस्थापन गर्नका लागि पौड्याललाई महाप्रबन्धक नियुक्ति गरिएको स्रोतले बतायो। ‘प्रधानमन्त्रीज्यू बसेपछि होटलमा एकाएक चाप बढ्यो। त्यो चाप अनुसार व्यवस्थापनका लागि व्यावसायिक रुपमा ह्यान्डल गर्ने व्यक्ति चाहियो। हामीले खोज्दै जाँदा उहाँको क्षमता देखेर नियुक्त गरिएको हो,’ स्रोतले भन्यो।
रिसोर्टले डिलक्स रुमको मूल्य एक रातको १५५ अमेरिकी डलर र सुइट रुमको मूल्य २२५ अमेरिकी डलरबाट सुरु हुने उल्लेख छ।










