काठमाडौं। कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्नका लागि माग गर्दै शुक्रबार सर्वोच्च अदालत पुगेको निवेदन मंगलबार दर्ता भएको हो।
सर्वोच्चले रिट निवेदनमा सुनुवाइ गर्न ११ गते बिहीबारका लागि पेसी तोकेको छ।
देउवा समूहका नेता मीनबहादुर विश्ववकर्माले पार्टीको आधिकारिकतालाई लिएर अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनको प्रक्रिया अगाडि बढाइएकाले रोक्नका लागि सर्वोच्चलाई गुहारेको बताए।
सर्वोच्च अदालतले गत वैशाख ४ गते गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएको थियो। तर त्यो फैसलाविरुद्ध देउवा समूहले पुनरवलाेकनको माग गरेकामा सर्वोच्चले साउन २१ गते पुन: सुनुवाइ गर्न आदेश दिएको थियो।
त्यही आदेशलाई देखाएर देउवा समूह अर्को मुद्दा लिएर सर्वोच्च गएको हो। ‘मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन सम्बन्धी गतिविधि रोक्नका लागि हामीले स्टे अर्डर माग गरेका छौं,’ विश्वकर्माले भने।
सभापति गगन थापाले गाउँ नगर वडा अधिवेशन भदौ २४ गते, गाउँ नगर अधिवेशन २७ गते, जिल्ला अधिवेशन असोज ३ र ७ गते, प्रदेश अधिवेशन १० गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी भदौ २ गते नयाँ तालिका सार्वजनिक गरेका थिए।










