विराटनगर नाकाबाट आयात निर्यात ठप्प, भन्सार एजेन्टको पेनडाउन, रोकिए ५०० भन्दा बढी ट्रक कन्टेनर



बिजमाण्डू
२०८३ भदौ ९ गते ११:५७ | Aug 25, 2026
विराटनगर नाकाबाट आयात निर्यात ठप्प, भन्सार एजेन्टको पेनडाउन, रोकिए ५०० भन्दा बढी ट्रक कन्टेनर


विराटनगर। सीमावर्ती जोगबनी भन्सार कार्यालयमा कार्यरत क्लियरिङ एजेन्टले विराटनगर नाकाबाट हुने आयात निर्यात सोमबारदेखि ठप्प पारेका छन्।

Vigo
GBIME
Tata

त्यहाँका क्लियरिङ एजेन्टले ल्यान्ड पोर्ट अफ इन्डिया (एलपीआई)को कार्यसम्पादन र सीमा सुरक्षा बल (एसएसबी)को व्यवहारप्रति आपत्ति जनाउँदै पेनडाउन गरेर आयात निर्यात ठप्प पारेका हुन् । एलपीआई भारतको सरकारी निकाय हो।

एजेन्टको पेनडाउनका कारण नेपालतर्फ आइरहेका ५ सयभन्दा बढी ट्रक र कन्टेनर सीमापारि नै रोकिएका छन्। विराटनगर भन्सारबाट हुने जाँचपासको प्रक्रिया पनि अवरूद्ध भएको छ।

जोगबनीस्थित एलपीआईका प्रबन्धक रत्नाकर यादवले एजेन्टले कुनै मागपत्र र अल्टिमेटम नदिई एकाएक काममा अवरोध सिर्जना गरेको बताए।

‘उहाँहरूको माग के हो, हामीसामु आइपुगेको छैन। एक्कासि पेनडाउन भन्ने सुनियो र काम रोकिएको छ। के कारणले हो हामीले बुझ्न सकेनौं। कुनै मागपत्र दिएका छैनन्,’ प्रबन्धक यादवले भने।

पेनडाउनमा संलग्न क्लियरिङ एजेन्ट लक्ष्मण यादवले एलपीआईका प्रबन्धक र एसएसबीले गरेको दुर्व्यवहारका कारण पेनडाउनमा उत्रन बाध्य भएको बताए।

‘एलपीआईका प्रबन्धकदेखि त्यहाँका कुनै पनि कर्मचारीले एजेन्ट र व्यवसायीसँग मर्यादापूर्वक कुरा गर्दैनन्। अत्यन्तै हेपेर कुरा गर्छन् र नराम्रो व्यवहार देखाउँछन्। त्यस्तै एसएसबीका प्रहरीको व्यवहार पनि राम्रो र मानवीय छैन,’ एजेन्ट लक्ष्मणले भने।

उनका अनुसार कार्यालयमा काम ढिलो हुन्छ। सर्भर डाउन भन्दै कर्मचारीले समयमा जाँचपास गर्दैनन्। यसका कारण ३ दिनसम्मको गाडीको पार्किङ शुल्क तिर्नुपर्छ। ‘पटक पटक अनुरोध गर्दा गर्दा केही नलागेपछि हामी हड्तालमा उत्रेका हौं,’ लक्ष्मणले भने।