काठमाडौं। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहाको आदेश गरेको छ। श्रेष्ठलाई हाजिर जमानीमा छाडी वा तारिखमा राखी मुद्दाको अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी परिसरलाई परमादेशको आदेश गरेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै श्रेष्ठ जनआस्था पत्रिकाको सम्पादक देखिए पनि जनआस्था अनलाइन पोर्टलको सम्पादकीय भूमिकामा नरहेको भन्दै रिहाको आदेश गरेको हो।
आदेशमा भनिएको छ, ‘निवेदकलाई थुनामै राखी मुद्दाको तहकिकात अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकाले अनुसन्धान तहकिकात गर्नुपर्ने भए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १५ बमोजिम निवेदकलाई हाजिर जमानीमा छाडी वा तारिखमा राखी मुद्दाको अनुसन्धान गर्नू भनी विपक्षी मध्येका जिल्ला प्रहरी परिसर, काठमाडौँको नाउँमा परमादेश जारी हुने ठहर्छ।’
अदालतले नेपालको संविधानको धारा १९ (२) र (३) ले सञ्चार माध्यमका सञ्चार सामग्री जफत नगरिने एवम् सञ्चार माध्यम अवरूद्ध नगरिने लगायतका सञ्चारको हकको सुनिश्चित गरेकाले श्रेष्ठको घर र कार्यालयबाट जफत गरिएका सामग्री फिर्ता गर्न पनि आदेश गरेको छ।
बरामदी मुचुल्कामा उल्लेख भएका तथा इजलासमा पेस गरिएका सम्पूर्ण सामग्री सर्वोच्चका सहरजिष्ट्रारको रोहबरमा श्रेष्ठपत्नी सरस्वतीलाई फिर्ता दिन अदालतले आदेश गरेको हो।









