काठमाडौं। माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन्। बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार पाँडेले साउन २९ गतेबाट नै जिम्मेवारी सम्हालिसकेका छन्।
बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको संख्या तीन पुगेको छ। यसअघि विश्वम्भर न्यौपाने र सुवास जमरकट्टेल नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए।
बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका पाँडेले यसअघि ग्लोबल आइएमई, कुमारी, साविकको जनता र लक्ष्मी बैंकमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए।
बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणीका साथै अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ विथ अनर्समा बी-टेक हासिल गरेका पाँडेसँग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालन लगायत ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ क्षेत्रको गहिरो अनुभव रहेको बैंकले जनाएको छ।
मर्जर, एक्विजिसन तथा एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन विकास, दिगो तथा हरित बैंकिङ लगायत क्षेत्रमा समेत उनीसँग अनुभव छ। पाँडेको नियुक्तिले व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार र रणनीतिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने बैंकको विश्वास छ।









