कानुन हतारमा नबनाऔं, निजी क्षेत्रसँग पर्याप्त छलफल गरियोस् : महासंघ अध्यक्ष श्रेष्ठ



बिजमाण्डू
२०८३ साउन २९ गते १६:३४ | Aug 14, 2026
कानुन हतारमा नबनाऔं, निजी क्षेत्रसँग पर्याप्त छलफल गरियोस् : महासंघ अध्यक्ष श्रेष्ठ


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ कानुन हतारमा नल्याउन सरकारलाई आग्रह गरेका छन्।

Tata
GBIME

उनले शुक्रबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औं वार्षिक साधारण सभा उद्‍घाटन समारोहमा नयाँ नीति तथा कानुन निर्माणअघि सम्बन्धित सरोकारवाला र निजी क्षेत्रसँग पर्याप्त छलफल गर्न सरकारसँग आग्रह गरे।

महासंघका अध्यक्ष श्रेष्ठले निजी क्षेत्रसँग सुझाव माग्ने तर त्यसलाई प्रभावकारी रूपमा समेट्ने स्थितिमा नीति कार्यान्वयनमा समस्या आउने बताए।

‘कुनै पनि नीति वा ऐन ल्याउनुअघि पर्याप्त छलफल र संवाद आवश्यक छ। हतारमा सुझाव माग्ने र त्यसपछि सुझाव समेटिएन भनेर निजी क्षेत्र निराश हुने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने।

अध्यक्ष श्रेष्ठले नीति निर्माण प्रक्रियामा निजी क्षेत्रलाई साक्षीका रूपमा नभई साझेदारका रूपमा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए।

अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले व्यावसायिक वातावरण सुधार, लगानी विस्तार र रोजगारी सिर्जनासम्बन्धी नीति बनाउँदा निजी क्षेत्रको अनुभव र सुझावलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ। श्रेष्ठले अर्थतन्त्रलाई दिगो र सन्तुलित बनाउन पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उनले देशको अर्थतन्त्र लामो समयसम्म रेमिटेन्समा निर्भर रहँदा जोखिम बढ्न सक्ने भन्दै उत्पादनमूलक क्षेत्रको विस्तार र विदेशी मुद्रा आर्जनका अन्य दिगो स्रोत विकास गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार, हवाई तथा सडक कनेक्टिभिटी, गन्तव्य विकास, सेवा गुणस्तर र लगानीमैत्री वातावरणमा सुधार आवश्यक रहेको बताए। उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए।