काठमाडौं। नेपाली कांग्रेसले पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक गरिरहँदा संस्थापनइतर समूहले राष्ट्रिय भेला गरेको छ।
संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा समिति गठन गरेर शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला गरेको हो।
भेलामा पूर्वसभापति शेरबहादुर देउवा ‘सभापति’का रुपमा सहभागी भएका छन्। भेलाका लागि बनाइएको ब्यानरमा देउवा र शशांकको तस्बिर राखिएको छ। ब्यानरमा पनि देउवालाई ‘सभापति’ भनिएको छ। जबकि गत पुस मसान्तमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेका थिए।


पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोग र सर्वोच्च अदालतले यसअघि नै गगनको नेतृत्वलाई मान्यता दिइसकेका छन्।
पार्टी प्यालेसभित्र नअटाएका कार्यकर्तालाई बाहिर राखिएको छ। बाहिर राखिएका साढे ५ हजार कुर्सी पनि भरिएका छन्।
शशांकको अध्यक्षतामा सुरु भएको भेलामा डा. शेखर कोइरालालाई विशेष अतिथि बनाइएको छ। भेलामा पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्ण सिटौला लगायत नेता सहभागी छन्।










