काठमाडौं। सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बनेका छन्।
एमालेसँग भएको समझदारी अनुसार नेकपाका भट्ट मुख्यमन्त्री बनेका हुन्। प्रदेश प्रमुख नजीर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका छन्।
भट्ट २०७९ मंसिरको चुनावयता सुदूरपश्चिमको मुख्यमन्त्री हुने चौथो नेता हुन्। एमाले र नेकपाको समीकरणपछि नेपाली कांग्रेसका कमलबहादुर बिहीबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
चुनावपछि २०७९ पुस २८ देखि माघ २६ गतेसम्म एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बने। त्यसपछि कांग्रेसका शाहले माघ २७ देखि २०८१ वैशाख ५ सम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले।
केन्द्रमा फेरिएको समीकरणको प्रभाव परेपछि २०८१ वैशाख ६ मा तत्कालीन नकेपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री बने। केन्द्रमा कांग्रेस र एमाले मिलेपछि सोडारीको पद तीन महिनामै गयो। उनले साउन २० गते राजीनामा दिएपछि कांग्रेसका शाह दोस्रोपटक मुख्यमन्त्री बने। उनले दोस्रो कार्यकालमा २ वर्ष ८ दिन प्रदेश सरकारको नेतृत्व गरे।
५३ सदस्यीय प्रदेश सभामा नेकपाका २२, एमालेका ११, कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सदस्य छन्। तीमध्ये एक जनाले राजीनामा दिएका छन्।










