सबै बोलपत्रदाता अयोग्य रहेको भन्दै मोदी जलविद्युत् कम्पनीले रद्द गर्‍यो दुईवटा ठेक्का



बिजमाण्डू
२०८३ साउन २८ गते ०७:२८ | Aug 13, 2026
सबै बोलपत्रदाता अयोग्य रहेको भन्दै मोदी जलविद्युत् कम्पनीले रद्द गर्‍यो दुईवटा ठेक्का


काठमाडौं। मोदी जलविद्युत् कम्पनी लिमिटेडले विद्युतीय तथा यान्त्रिक निर्माणसम्बन्धी दुईवटा ठेक्का प्रक्रिया रद्द गरेको छ।

Tata
GBIME

कम्पनीले बिहीबार सूचना जारी गर्दै प्रकाशित बोलपत्रमा सहभागी सबै बोलपत्रदाता अयोग्य देखिएको जनाउँदै प्रक्रिया रद्द गरेको हो। कम्पनीका अनुसार ‘कन्स्ट्रक्सन अफ इलेक्ट्रोमेकानिकल वर्क्स’ अन्तर्गत प्याकेज-१ र प्याकेज-२ का बोलपत्र रद्द भएका हुन्।

बोलपत्र खोल्ने सूचनाप्रति असन्तुष्टि जनाउँदै केही बोलपत्रदाताले कम्पनीमा उजुरी दिएका थिए। गोरखापत्र राष्ट्रिय दैनिकमा २०८३ जेठ २० गते प्रकाशित मूल्य बोलपत्र खोल्ने सूचनालाई लिएर उजुरी परेको कम्पनीले जनाएको छ।

उजुरीमाथि छानबिन गर्न गठित समीक्षा समितिको सिफारिसपछि बोलपत्रदाता ‘नन्-रेस्पोन्सिभ’ रहेको निष्कर्ष निकालिएको हो। कम्पनीको बुधबारको निर्णयपछि खरिद प्रक्रिया अघि नबढाउने निर्णय गरिएको छ।

कम्पनीले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६(१)(क), आफ्नो वित्तीय प्रशासन विनियमावली, २०८० को नियम १६३(१)(क) तथा बोलपत्रसम्बन्धी निर्देशिकाको आइटीबी ३८ अनुसार प्रक्रिया रद्द गरेको जनाएको छ।