काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सेयर बजारमा जोखिम नलिने लगानीकर्ताले समेत प्रतिफल पाउने उपकरण सञ्चालनको तयारी अघि बढाएको छ।
लगानीकर्ताले आफूसँग भएको कम्पनीको सेयर ऋण दिएर त्यसबापत शुल्क पाउने उपकरण सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ (एसएलबी) मार्केट सञ्चालनको तयारी अघि बढाएको हो।
सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ मार्केट सञ्चालनमा आएपछि लगानीकर्ताले आफूले होल्ड गरेर कारोबार गर्न नचाहेको सेयर समेत अर्कालाई उधारो दिएर ब्याजस्वरुप शुल्क पाउने छन्।
बजारमा अहिले कम्पनीको सेयरमा लगानी गरेर सर्ट ट्रेड नगर्ने लगानीकर्ताले प्रतिफल पाउन कम्पनीको लाभांश कुर्नुपर्छ। त्यसबाहेक सेयर मूल्य बढेर बिक्री गरेपछि मात्रै नाफा आर्जन गर्न सक्छन्।
आफूले कारोबार नगर्ने तर सेयर ऋण दिएर शुल्क लिन सकिने व्यवस्था अहिलेको बजारमा छैन।
सेबोनले चालु आर्थिक वर्षभित्रै सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ मार्केट सञ्चालन गर्न तयारी गरिरहेको छ। बजारमा यस उपकरणले अहिलेको दोस्रो बजारजस्तै ठूलो आकारमा अर्को बजार सिर्जना गर्ने सेबोनको विश्लेषण छ।
सेबोनले मार्जिन लेण्डिङ, सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ र सर्टसेलिङका लागि छुट्टै नियमावली जारी गर्न मस्यौदा तयार पारिसकेको छ।
‘जो लगानीकर्ता रिस्क लिन चाहँदैनन् तर कम्पनीको सेयर होल्ड गरेका छन्, उनीहरुका लागि सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ प्रतिफलका लागि उपयुक्त उपकरण हुन्छ,’ सेबोनका एक अधिकृतले भने, ‘बजारमा सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ संयन्त्र तयार नगरी सर्टसेलिङ सञ्चालन गर्न सम्भव नभएकाले जतिसक्दो छिटो ल्याउने कोसिस गरिरहेका छौं। अहिले नियमावलीको मस्यौदामाथि छलफल भइरहेको छ।’
सेबोनले बजारमा एक वर्षभित्रै एसएलबी उपकरण ल्याउन कार्यकारी निर्देशक रुपेश केसीको नेतृत्वमा, नेप्से, सीडीएससी र ब्रोकरसहितको समन्वय समिति बनाएको छ।

समितिले दोस्रो बजारमा नयाँ उपकरणका लागि चाहिने पूर्वाधारको तयारीमाथि छलफल गरिरहेको छ। सेबोनले दोस्रो बजारमा लगानीका नयाँ उपकरण ल्याउन चरणबद्ध योजना बनाएको छ।
पहिलो चरणमा मार्जिन लेण्डिङलाई नयाँ नियमावली ल्याएर थप प्रभावकारी बनाउने सेबोनको योजना छ। बजारमा अहिले मार्जिन लेण्डिङ निर्देशिकाका आधारमा केही ब्रोकरले मात्र लगानीकर्तालाई ऋण उपलब्ध गराइरहेका छन्। यसलाई अब नियमावली बनाएर प्रभावकारी बनाउन लागिएको हो।
यसपछिको दोस्रो चरणमा एसएलबी बजार सञ्चालनमा ल्याउने योजना सेबोनको छ। दोस्रो बजारमा सर्टसेलिङको मुख्य आधार नै एसएलबी भएकाले यस उपकरणलाई सञ्चालनमा ल्याउन लागिएको हो।
‘कभर्ड सर्टसेलिङ सञ्चालन गर्न बरोइङ सेक्युरिटिजको उपलब्धता आवश्यक हुन्छ। एसएलबीबिना सर्टसेलिङ सम्भव हुँदैन,’ सेबोनले रुपरेखामा भनेको छ, ‘सेटलमेन्ट रिस्क बढ्छ र मार्केट इफिसियन्सी कमजोर हुन्छ।’
सर्टसेलिङमा लगानीकर्ताले आफूसँग नभएको सेयर उधारो लिएर निश्चित मूल्यमा बिक्री गर्छन्। र, त्यसपछि फिर्ता गर्छन्। यस कारोबारमार्फत सिर्जना हुने दायित्व पूरा गर्नका लागि एसएलबी चाहिन्छ।
एसएलबी सञ्चालनअघि नै सेटलमेन्टका लागि सूचना तथा प्रविधिको पूर्वाधार तयार गर्ने सेबोनको योजना छ। डिपोजिटरी तथा क्लियरिङको काम अहिले सीडीएससीले गरिरहेको छ। सेबोनले सीडीएससीमार्फत पूर्वाधार तयार गरेर सेक्युरिटी लेण्डिङ एण्ड बरोइङमा सेटलमेन्टको काम गर्ने योजना बनाएको छ।
लगानीकर्ताले सर्टसेलिङमार्फत सिर्जना हुने सेयर दायित्व पूरा गर्न एसएलबीमार्फत शुल्क तिरेर पूरा गर्न सक्नेछन्। जुन सेयर भएका लगानीकर्तालाई समेत प्रतिफलको आधार बन्छ।
‘एसएलबीले नेपालका म्युचुअल फण्ड, इन्स्योरेन्स कम्पनी, पेन्सन फण्ड, दीर्घकालीन लगानीकर्ताले आफ्नो निष्क्रिय धितोपत्रबाट अतिरिक्त आम्दानी प्राप्त गर्न सक्छन्,’ सेबोनले तयार पारेको रुपरेखामा भनिएको छ।
एएलबीले सेयर भएका तर जोखिम लिन नचाहने निष्कृय लगानीकर्तालाई प्रतिफल दिने मात्र नभइ बजारमा तरलता वृद्धि, कारोबारको आकार, बजारको गहिराइ र कम्पनीको मूल्य निर्धारणमा समेत सुधार गर्ने सेबोनको विश्लेषण छ।
सेबोनले एसएलबीका लागि कम्पनीको सेयर सूचीकृत भएको निश्चित अवधि, कारोबार, पर्याप्तता, बजार पुँजीकरणको न्यूनतम् सीमा र नियामकीय मापदण्ड पालनाको विषयलाई आधार बनाउन लागेको छ।









