काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतरको राष्ट्रिय भेला काठमाडौंको धुम्बाराहीस्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ। संस्थापनइतरले शुक्रबार आयोजना गर्न लागेको राष्ट्रिय भेलाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
भेलाको प्रमुख अतिथि पूर्वसभापति शेरबहादुर देउवा हुनेछन्। देउवा बिहीबार सवा १२ बजे हङकङबाट काठमाडौं आइपुग्दैछन्।
उनलाई स्वागत गर्न भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालासहितको टोली विमानस्थल पुग्ने तयारी रहेको नेता मीन विश्वकर्माले बताए। ‘देउवा दाइ १२:३० मा आइपुग्ने तालिका छ। हामी १२ बजे नै विमानस्थल पुग्छौं,’ विश्वकर्माले भने।
देउवा साढे ४ महिनापछि स्वदेश फर्किन लागेका हुन्। उनी उपचारका लागि भन्दै गत फागुन १३ गते सिंगापुर गएका थिए। उनी त्यतैबाट हङकङ पुगेका थिए।
भेलामा ४५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने विश्वकर्माले बताए। भेलामा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य पूर्वमन्त्री र पूर्वसांसदहरुलाई निम्ता गरिएको छ। शुक्रबार दिउँसो १ बजे उद्घाटन हुने भेलामा शनिबार बिहान ८ बजेबाट बन्दसत्र सुरु गर्ने तय भएको छ।









