विराटनगर । औद्योगिक घराना देवेनरा समूहको निजी निवास र कार्यालयमा प्रहरीले गरेको सर्च अपरेसनप्रति निजी क्षेत्रका अगुवाले आपत्ति जनाइरहेका छन्।
निजी क्षेत्रको संगठन सीएनआई कोशीले यस घटनाप्रति गम्भीर आपत्ति जनाउँदै चिन्ता व्यक्त गरेको छ। सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारडाले विज्ञप्ति प्रकाशित गर्दै उद्योगीको निजी निवासमा भएको खानतलासी कुन कानुनी आधार, कुन सूचना वा कुन आवश्यकताका आधारमा गरिएको हो भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक गर्न माग गरेका छन्।
शारडाले करिब साढे पाँच घण्टाको खोजतलासबाट के प्राप्त भयो भन्ने विषयमा कानुनसम्मत सीमाभित्र आवश्यक जानकारी सबै नागरिकले बुझ्ने गरि दिनुपर्ने पनि बताएका छन्। उनले घटनाप्रति आपत्ति र चिन्ता व्यक्त गरेका छन् ।
शारडाले समाजसेवी तथा औद्योगिक घराना देवनरा समूहको निज निवास तथा कार्यालयमा नेपाल प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी करिब साढे पाँच घण्टासम्म संचालन खानतलासी गरेको बताए। प्रहरीले गरेको खोजतालसमा केही पनि प्रमाण भेटिएको थिएन।
उनले भने, ‘बिहान उज्यालो नहुँदै निजी निवासलाई चारैतिरबाट घेराबन्दी गरी ठुलो संख्यामा प्रहरी परिचालन गर्नु, परिवारका सदस्य तथा ज्येष्ठ नागरिकलाई लामो समयसम्म मानसिक दबाबमा राख्नु र करिब साढे पाँच घण्टासम्म खानतलासी संचालन गर्नु जस्ता घटनाले सम्बन्धित परिवारको मात्र होइन, सम्पूर्ण उद्योग–व्यवसायी समुदायको मनोबलमा गम्भीर असर परेको छ।’
विज्ञप्तिमा कुनै पनि नागरिक वा संस्थामाथि कानुन बमोजिम अनुसन्धान गर्ने अधिकार राज्यसँग रहे पनि त्यस्तो अधिकारको प्रयोग गर्दा नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हक, गोपनीयताको अधिकार, मानव मर्यादा र सम्मानको पूर्ण संरक्षण हुनु अनिवार्य रहेको बताइएको छ।
‘यदि यस्तो प्रकृतिको कारबाही अपरिहार्य थियो भने त्यसको कानुनी आधार, आवश्यकता र उद्देश्यबारे राज्यले पारदर्शी रूपमा सार्वजनिक रूपमा स्पष्ट गर्नुपर्छ,’ शारडाको भनाइ छ, ‘सरकारले निजी क्षेत्रलाई यसरी त्रसित आतंकित बनाउने हैन राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्दै उद्योग, व्यवसाय र लगानीप्रति विश्वास जगाउने वातावरण सिर्जना गर्नु पर्दछ भन्ने हाम्रो जोडदार आग्रह छ । अन्यथा यस्ता घटनाबाट सिर्जना हुने असुरक्षा, अन्योल र अविश्वासले मुलुकको समग्र आर्थिक विकास र लगानीका वातावरणमा दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ र यसको सबै जिम्मेवार सरकारको हुने समेत प्रस्ट गर्दछौँ।,
त्यस्तै, शारडाले कानुन कार्यान्वयनका नाममा निर्दोेष नागरिक, उद्योगी–व्यवसायी वा लगानीकर्ताको सम्मान, प्रतिष्ठा र मनोबलमा अनावश्यक क्षति पुग्ने कुनै पनि कार्य लोकतान्त्रिक मूल्य, संवैधानिक भावना र लगानीमैत्री वातावरणको मर्मअनुकूल हुन सक्दैन भनेका छन्।
‘यतिबेला मुलुक आर्थिक मन्दी, लगानीमा आएको संकुचन, उत्पादनमा गिरावट, रोजगारी संकट तथा निजी क्षेत्रको घट्दो मनोबलजस्ता गम्भीर चुनौतीसँग जुधिरहेको छ। यस्तो संवेदनशील अवस्थामा उद्योगी–व्यवसायीलाई त्रसित, सशंकित वा असुरक्षित महसुस गराउने शैलीका गतिविधिले लगानीको वातावरणलाई थप कमजोर बनाउने, स्वदेशी तथा विदेशी लगानी निरुत्साहित गर्ने र उद्योग–व्यवसायको पलायनलाई समेत प्रोत्साहन गर्ने जोखिम बढाउँने निश्चित छ’, शारडाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।
देवेनरा ग्रुपका निर्देशक प्रकाश मुन्दडा सीएनआई कोशीका वरिष्ठ उपाध्यक्ष समेत हुन्।









