आइसीपीमा ट्रान्स नेपालको ढुवानी सेवा सुस्त, १६ कन्टेनर तोरी स्वस्तिक आयल उद्योगमा अझै पुगेन



अनन्तराज न्यौपाने
२०८३ साउन १८ गते १२:५४ | Aug 3, 2026
आइसीपीमा ट्रान्स नेपालको ढुवानी सेवा सुस्त, १६ कन्टेनर तोरी स्वस्तिक आयल उद्योगमा अझै पुगेन


विराटनगर। साउन ४ गते अस्ट्रेलियाबाट कार्गोरेल मार्फत् विराटनगरस्थित आइसीपीमा आइपुगेको ४० कन्टेनर तोरीमध्ये १६ कन्टेनर अझै गन्तव्यमा पुग्न सकेको छैन।

Tata
GBIME

आइसीपी र यसनजिक रहेको रेलवे यार्ड अर्थात् नेपाल कस्टम यार्ड (एनसीवाई)मा कार्गो ह्यान्डलिङ, लोडअनलोड, ढुवानी र पार्किङको ठेक्का लिएको कम्पनी ट्रान्स नेपाल टीआरएस लोजीपार्कले समयमा ढुवानी गर्न नसकेपछि कन्टेनर कार्गो आइसीपी परिसरमै थन्किएको हो।

केएल दुगड समूहको मोरङस्थित स्वस्तिक आयल इन्डस्ट्रिजले अस्ट्रेलियाबाट कार्गोरेल मार्फत् १ हजार ७० टन तोरी आयात गरेको थियो। तोरी सिपिङ लाइनर मर्स्क कम्पनीका ४० फिटका कन्टेनरमा लोड गरिएको छ। कन्टेनर भाडामा दिने कम्पनीलाई सिपिङ लाइनर भनिन्छ।

ट्रान्स नेपालका एक कर्मचारीका अनुसार ट्रान्स नेपालले कन्टेनर लोड गर्ने ट्रेलर पर्याप्त संख्यामा ल्याउन नसकेपछि ढुवानीमा समस्या भएको हो। यसअघि कार्गोरेल (र्‍याक)बाट तोरी अनलोड गरेर यार्डमा राख्ने क्रममा क्रेन नै क्षतिग्रस्त भएपछि अनलोडको प्रक्रिया ढिलो भएको थियो।

साउन ४ गते आइपुगेको ४० कन्टेनर तोरी क्रेनले अनलोड गरेर यार्डमा राख्न एक साता लागेको थियो। एउटा क्रेन काम नलाग्ने भएपछि ट्रान्स नेपालले अर्को क्रेन ल्याएको थियो।

ट्रान्स नेपालले ४० वटा कन्टेनर ढुवानीका लागि ४ वटा मात्र ट्रेलर ल्याएको ट्रान्स नेपालका कर्मचारीले बताए। जबकि ४० फिटका ४० वटा कन्टेनरमा ढुवानी गरेर कारखानाको गोदाममा तोरी अनलोड गर्न धेरै समय लाग्ने हुँदा कम्तीमा १० वटा ट्रेलर आवश्यक पर्थ्यो।

स्वस्तिक आयल उद्योग विराटनगरको आइसीपीबाट २१ किलोमिटर उत्तरमा अवस्थित छ। ट्रान्स नेपालका व्यवस्थापक आलम खानले कम्पनीले आयातकर्ताको चाहना अनुसार ढुवानी सेवा दिइरहेको दाबी गर्दै यसभन्दा बढी केही बताउन नसक्ने बताए।

केएल दुगड ग्रुप विराटनगरका व्यवस्थापक किरण डागाले अस्ट्रेलियाबाट ४० कन्टेनर तोरी कार्गोरेलमा आयात गरेर कम्पनीले आफू फसेको अनुभव गरिरहेको सुनाए।

‘हामी त यसमा फसेको जस्तो भयो’, व्यवस्थापक डागाले भने, ‘ट्रान्स नेपालले राम्रो व्यवस्थापन गर्न र सेवा दिन सकेन। चार्ज मात्रै महँगो छ। जम्मा ४ वटा ट्रेलरमा कन्टेनर ढुवानी गरेर त्यसलाई कारखानाको गोदाममा अनलोड गरेर तोरी खन्याएर फेरि ढुवानी गर्दा धेरै ढिलो भएको छ।’

डागाले पहिलो पटक बल्क कार्गो आएकाले ट्रान्स नेपाललाई व्यवस्थापन गर्न गाह्रो भएको हुनसक्ने बताए।

मर्स्क कम्पनीका विराटनगरस्थित प्रतिनिधि विजय श्रीवास्तवले तोरी आयातकर्ता स्वस्तिक आयलले साउन २३ गतेसम्म कन्टेनरको डिटेन्सन बुझाउनु नपर्ने बताए।

उनका अनुसार आयातकर्ताले रेलको र्‍याकबाट कन्टेनर अनलोड भएका मितिले १४ दिनभित्र नजिकमा रहेको सिपिङ लाइनरको कार्यालयमा कन्टेनर बुझाइसक्नुपर्छ। त्यस अवधिसम्म डिटेन्सन लाग्दैन।

श्रीवास्तवले ट्रान्स नेपालको सेवाबारे टिप्पणी गर्न अस्वीकार गर्दै स्वस्तिक आयलले निर्धारित समयमा कन्टेनर फिर्ता गर्ने विश्वास व्यक्त गरे।

व्यवसायीले भने १४ दिन डिटेन्सन नलिने स्किम देखाएर कन्टेनर ढुवानीमा विलम्ब गर्न नपाइने बताएका छन्। किनकि व्यवसायीले कर्जा लिएर कच्चा पदार्थ वा व्यापारिक वस्तु आयात गरेका हुन्छन्।

१४ दिनसम्म आयातित वस्तु आइसीपी वा यार्डमै थन्किंदा ब्याजको भार पर्छ। यसले व्यवसायीको लागत ह्वात्तै बढाउँछ।

ट्रेलरको १७०० शुल्क हटाउन माग

ट्रान्स नेपालले ढुवानीका लागि ल्याएका सबै ट्रेलर भारतीय नम्बरका हुन्। नेपाली नम्बरका ट्रेलर पाइँदैनन्। तर ट्रेलर एक दिनका लागि ल्याउँदा नेपालको भन्सार विन्दुमा अस्थायी पैठारीबापत १ हजार ७०० रुपैयाँ तिर्नुपर्छ। व्यवसायीले यो शुल्क हटाउन माग गरेका छन्।

मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल शाहले लोड गरिएका ट्रेलर र खाली ट्रेलर आइसीपीमा प्रवेश गर्दा एक दिनको क्रमशः १५ र १७०० शुल्क लाग्ने बताए।

लोड गरिएका ट्रक तथा ट्रेलरको १५०० शुल्कको प्रावधान गत आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएकामा तत्काल विरोध भएको थियो।

‘दुबै चार्ज अनावश्यक छन्। लोडेड ट्रेलरको १५०० भन्दा खाली ट्रेलरको १७०० चार्ज महँगो छ। यो त न्याय भएन। सरकारले यसलाई हटाएर व्यवसायीको लागत घटाउन सघाउनुपर्छ,’ वरिष्ठ उपाध्यक्ष शाहले भने।