नारायणगढ-मुग्लिन सडक पूर्ण संचालनमा, पहिरोको जोखिम कायमै रहेकाले सतर्क रहन आग्रह



बिजमाण्डू
२०८३ साउन १८ गते १२:०४ | Aug 3, 2026
नारायणगढ-मुग्लिन सडक पूर्ण संचालनमा, पहिरोको जोखिम कायमै रहेकाले सतर्क रहन आग्रह
तस्बिर : सडक डिभिजन भरतपुर


चितवन। नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुईतर्फी रुपमै सडक संचालनमा ल्याइएको छ।

Tata
GBIME

सोमबार बिहान सो सडकको विभिन्न ठाउँमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो।

डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो। तुइन, नाम्सी र सिमलतालमा एकतर्फी सडक रोकिएको थियो भने अन्य ठाउँमा लेदो खसेर सडकको छेउमा थुप्रिएको थियो।

ती ठाउँको पहिरो पन्छाएसँगै बिहान १० बजेपछि सडक पूर्ण रुपमा संचालनमा आएको छ।

तुइन खोलाको पहिरो त्यस क्षेत्रमा निर्माणको काम गरिरहेको कम्पनीले स्वयंले पहिरो पन्छाइरहेको छ। अन्य ठाउँको पहिरो मुग्लिन र सेतीदोभानमा रहेका उपकरण प्रयोग गरी पन्छाइएको छ।

सो सडक खण्डमा भने सिमसिम पानी परिरहेको घिमिरेले जानकारी दिए। त्यस क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न समेत सवारी चालक र यात्रुलाई आग्रह गरिएको छ। रासस