काठमाडौं। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को आठौं वार्षिक साधारणसभाले सुगम घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित साधारणसभाको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले गरेका थिए। कार्यक्रममा सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष मनीष श्रेष्ठ, पूर्वमन्त्री अनिल सिन्हालगायत उद्योगी, कूटनीतिक नियोगका प्रतिनिधि, युवा उद्यमी र विभिन्न प्रदेशका सदस्यहरूको सहभागिता थियो।
साधारणसभामा निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराउँदै नेपालमा युवा उद्यमशीलताको प्रवर्द्धनमा मञ्चले खेलेको भूमिकामाथि प्रकाश पारे। त्यसपछि स्टार्टअप संयोजक चिराग सरावगीले मञ्चका गतिविधि र उपलब्धिहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने सदस्य तथा च्याप्टरलाई सम्मानसमेत गरिएको थियो। जितेन्द्र बहाते ‘मोस्ट एक्टिभ मेम्बर (पुरुष)’ र नेहा अग्रवाल ‘मोस्ट एक्टिभ मेम्बर (महिला)’ घोषित भए। सगरमाथा आरोहणको उपलब्धिका लागि सुधिज्ञ पन्तलाई आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।
संगठनतर्फ सदस्य विस्तार र सक्रियताका लागि लुम्बिनी च्याप्टरले ‘च्याप्टर ग्रोथ अवार्ड’ तथा उत्कृष्ट कार्यसम्पादनका लागि कोशी च्याप्टरले ‘च्याप्टर एक्सिलेन्स अवार्ड’ प्राप्त गरेको मञ्चले जनाएको छ।
साधारणसभाले सुगम घिमिरेको नेतृत्वमा नयाँ शासकीय परिषद् (गभर्निङ काउन्सिल) सार्वजनिक गरेको छ। नयाँ कार्यसमितिमा मनीष श्रेष्ठ इमिडियट पास्ट प्रेसिडेन्ट, चिराग सारावगी लर्निङ चेयर, शाइनी खेतान सदस्यता तथा एकीकरण संयोजक, श्रीमती निदा दून मल्ल स्टार्टअप, उद्यमशीलता तथा नवप्रवर्तन संयोजक, सुजीत रेग्मी सरकार तथा कूटनीतिक सम्बन्ध संयोजक, पुनित अग्रवाल सञ्चार तथा विस्तार संयोजक, यश अग्रवाल रणनीतिक साझेदारी तथा सञ्चार संयोजक र अंकुर अग्रवाल वित्त तथा अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक चयन भएका छन्।
यस्तै, न्यान्सी अग्रवाल, सचेत मानन्धर र चेतन प्रधान क्रमशः सदस्यता तथा एकीकरण, स्टार्टअप तथा उद्यमशीलता र सरकार तथा कूटनीतिक सम्बन्धका सहसंयोजक रहनेछन्।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. मल्लले उद्यम विकास कोषका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै युवा उद्यमशीलता प्रवर्द्धनका लागि सीएनआईवाईईएफसँग सहकार्य गर्न सरकार इच्छुक रहेको बताए। उनले सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डेसँगै मञ्चले नेपालको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष श्रेष्ठले अतिथिहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरेका थिए भने नवनिर्वाचित अध्यक्ष घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए।









