बालेनले सांसदहरुलाई भने- सरकारले योजनाबद्धरुपमा काम गरिरहेको छ, तपाइँहरुको साथ चाहियो



बिजमाण्डू
२०८३ साउन १५ गते १६:२१ | Jul 31, 2026
बालेनले सांसदहरुलाई भने- सरकारले योजनाबद्धरुपमा काम गरिरहेको छ, तपाइँहरुको साथ चाहियो


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायत तराईका जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन्।

Tata
GBIME

उनले शुक्रबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सिंहदरबारमा भएको छलफलमा नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्‍भाव सुदृढ बनाउन सरकार निरन्तर लागिरहेको बताए।

‘सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उहाँहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा छ,’ बालेनलाई उद्यृत गर्दै उनको सचिवालयले भनेको छ, ‘शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको छ।’

उनले राज्य संयन्त्रका सम्पूर्ण अंग उच्च सतर्कताका साथ परिचालित भइसकेको भन्दै सांसदहरूलाई आ-आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच बलियो पुल बन्न आग्रह गरे।

सांसदहरूले आफूहरू तत्कालै आ-आफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाएका छन्।

उनीहरुले स्थानीयस्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम राख्नका लागि दुवै पक्षका धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग संवाद गर्न सुझाव दिए।