काठमाडौं। पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थसचिव शंकरप्रसाद अधिकारी र पूर्वसचिव केवल भण्डारीसँग धरौटी माग भएको छ।
विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार अधिकारीसँग ७ लाख र भण्डारीसँग ५ लाख रुपैयाँ धरौटी मागेको हो।
अख्तियारले गत मंसिर २१ गते दायर गरेको यो मुद्दामा पाँच पूर्वमन्त्रीसहित ५५ व्यक्ति र चिनियाँ कम्पनीलाई प्रतिवादी बनाएको थियो। विमानस्थल निर्माणको लागत ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बढाई भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो।










