काठमाडौं। मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताले प्रधानमन्त्री बालेन्द्र शाहलाई तराई मधेशमा देखिएको समस्या समाधानका लागि सक्रियता बढाउन आग्रह गरेका छन्।
बालेनको निम्तामा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका विभिन्न दलका नेताले सरकारको सक्रियता बढाउन र विगतमा भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री बालेनले मधेशमा शान्ति सुव्यवस्था कायम राख्न र आगामी दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ? भनी सोधेका थिए।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन सुझाव दिए। विगतका सरकारले मधेशसँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि आफूले सुझाव दिएको महतोले संचारकर्मीसँग बताए।
छलफलमा सहभागी नेताहरुले देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
जनमत पार्टीका अध्यक्ष डा सिके राउतले प्रधानमन्त्रीले पहिलो पटक मधेश केन्द्रित राजनीतिक दलसँग छलफल गर्नु सकारात्मक कदम भएको बताए।

छलफलमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर, मधेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, रास्वपाका सांसद अमरेशकुमार सिंह, प्रभु शाह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायत नेता सहभागी थिए।









