राष्ट्रिय व्यावसायिक पहलको अपिल : सबै पक्ष संयम भएर सहिष्णुताका साथ अघि बढौँ



बिजमाण्डू
२०८३ साउन १५ गते १४:२६ | Jul 31, 2026
राष्ट्रिय व्यावसायिक पहलको अपिल : सबै पक्ष संयम भएर सहिष्णुताका साथ अघि बढौँ


काठमाडौं। राष्ट्रिय व्यावसायिक पहल (एनबीआइ)ले पूर्वी नेपाल तथा मधेशमा भइरहेको सामाजिक द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

Tata
GBIME

एनबीआइले विज्ञप्ति जारी गर्दै सम्पूर्ण पक्षलाई संयमता, संवाद र सहिष्णुताका साथ अघि बढ्न आग्रह गरेको छ।

‘शान्ति नै समृद्धिको आधार हो। तराई-मधेशसहित देशभरका सबै नागरिक, समुदाय, सामाजिक तथा राजनीतिक नेतृत्व, व्यवसायी, युवा, नागरिक समाज, सञ्चार माध्यम तथा सम्पूर्ण नेपालीलाई धार्मिक सद्भाव, सामाजिक एकता र स्थायी शान्ति कायम गर्न एनबीआइ हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

विवादको समाधान संवाद र लोकतन्त्रिक प्रक्रियाबाट खोज्नुको विकल्प नभएको एनबीआइले उल्लेख गरेको छ। हिंसा, बन्द र अशान्तिले व्यवसाय, रोजगारी र अर्थतन्त्रमा गम्भीर असर पार्ने एनबीआइको भनाइ छ।

शान्तिपूर्ण सामाजिक सद्भाव, सुरक्षित व्यावसायिक वातावरण र दिगो आर्थिक विकासका लागि राष्ट्रिय एकता अपरिहार्य भएको एनबीआइले स्पष्ट पारेको छ।