काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले तराईमा देखिएको तनावलाई लिएर संयमता अपनाउन र वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ।
नाडाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कुनै पनि प्रकारका हिंसात्मक गतिविधि स्वीकार्य नहुने भन्दै सामाजिक सद्भावका लागि अपिल गरेको छ।
‘कुनै पनि प्रकारका हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पुर्याउने कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन सक्दैन। यस्ता घटनाले केवल शान्ति सुरक्षा र सामाजिक सद्भावमा मात्र असर पुर्याउँदैन, आम नागरिकको दैनिक जीवन, उद्योग-व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पार्दछ,’ नाडाले भनेको छ ‘नाडा सम्बन्धित पक्षहरूलाई संयमता अपनाउन, कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न हार्दिक आग्रह गर्दछ।’
नाडाले तराईमा जनजीवन र व्यावसायिक वातावरण यथाशीघ्र सहज बनाउनका आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।









