काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
शुक्रबार राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू-भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले कोशी प्रदेशको पहाडी र तराई भू-भाग, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले पछिल्लो सूचनामा अद्यावधिक हुन अनुरोध गरेको छ।









