काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।
उनले सोमबार मन्त्रालयमा राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै भन्सार र राजस्व प्रशासनका अधिकारीलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिए।
‘विगतको तथ्यांक हेर्दा राजस्व संकलनको बिग्रिएको लय र चुहावटको गुनासो अत्यधिक पाइएको छ। अब यो सह्य हुँदैन। राजस्व संकलनको लक्ष्य, डेटलाइन र उद्देश्यमा यहाँहरू स्पष्ट हुनुपर्छ,’ वाग्लेलाई उद्यृत गर्दै उनको सचिवालयले भनेको छ, ‘अर्जुनदृष्टि लगाएर अघि बढ्नुहोस्। करदातालाई कर लगाएर होइन, उत्साहित गरेर कर संकलन गर्नुहोस्।’

अर्थमन्त्री वाग्लेले कर उठाउने लक्ष्य वैज्ञानिक बनाउनुपर्नेमा जोड दिँदै कर संकलनको जिम्मेवारीमा रहेका कर प्रशासकहरू अनुकूल वातावरणबाट बाहिर निस्किएर यथार्थवादी हुनुपर्ने बताए।
‘राज्य बनाउन कर चाहिन्छ। कर उठाउन तपाइँहरूको साथ। मेहनत गरे प्रोत्साहन मिल्छ, गलत गरे दण्ड,’ उनले भने।
उनले भन्सार, राजश्व र आन्तरिक करतर्फका कर प्रशासकलाई राजस्वको लक्ष्य प्राप्तिका लागि सरकारले आवश्यक सबै स्रोत साधन उपलब्ध गराउने बताए।

उनले राजस्व छली रोक्नका लागि प्राविधिक उपकरण प्रयोगमा जोड दिन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए।
उनले देशका प्रमुख १४ भन्सार कार्यालयमा तीन महिनाभित्र सवारीसाधन स्क्यानर मेसिन जडान गर्न भनेका छन्। ‘भन्सार विभागका महानिर्देशकज्यू, १४ प्रमुख नाकामा सवारीसाधन स्क्यानर जडान गर्न अगाडि बढिहाल्नुहोस्। के-कस्तो सहयोग चाहिने हो भन्नुहोस्,’ वाग्लेले भने।
उनले भन्सार र कर चुहावट भइरहेका क्षेत्रको सूक्ष्म अनुगमन गरी व्यवसायीलाई तर्साएर नभइ प्रणाली सिकाएर करको दायरामा ल्याउन भनेका छन्।

बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले आर्थिक गतिविधि र राजस्वको तथ्यांकमा केही बेमेल रहेको भन्दै कमजोरी सच्याउन निर्देशन दिए।
मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले राजस्व संकलनको विगत, वर्तमान स्थिति र आगामी आर्थिक वर्षको लक्ष्य प्राप्तिको चुनौतीबारे प्रस्तुती गरेका थिए।
यस्तै भन्सार विभागका महानिर्देशक यमलाल भुसालले आगामी वर्षको लक्ष्य प्राप्तिको योजना प्रस्तुत गरेका थिए।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले सरकारले घोषणा गरेको राजस्व छुट योजना र कर प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि काम गरिरहेको जानकारी गराएका थिए।










