काठमाडौं। गृहमन्त्री सुधन गुरूङले ८ वर्षदेखि निमार्णाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालयको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।
उनले आइतबार निरीक्षणका क्रममा कामदारको संख्या बढाएर द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिएका हुन्।
उनले ठेक्का लिएर आलटाल गरी बस्ने ठेकेदार कम्पनी तथा अनुगमनमा बेवास्ता गर्ने कर्मचारीमाथि कारबाही हुने बताए।
सुधन शनिबार साँझ चालकसहित भोटेकोशीमा खसेको विद्युतीय गाडी र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसला दिन भन्दै रसुवा पुगेका हुन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले १० वटा ड्रोनसहित तीनवटै सुरक्षा निकाय चालकको खोजीमा परिचालन भएको जानकारी दिए। चालक रसुवाको कालिका गाउँपालिका-३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङ हुन्।









