स्थापनाको वर्ष २० लाख आयकर जम्मा गरेको नबिलले अहिले बुझाउँछ ३ अर्ब, ४२ वर्षमा कति?



बिजमाण्डू
२०८३ साउन ८ गते १३:१५ | Jul 24, 2026
स्थापनाको वर्ष २० लाख आयकर जम्मा गरेको नबिलले अहिले बुझाउँछ ३ अर्ब, ४२ वर्षमा कति?


काठमाडौं। नबिल बैंकले आफ्नो स्थापनाको ४२ वर्षमा सरकारलाई ३१ अर्ब ७८ करोड रुपैयाँ आयकर बुझाएको छ। त्यसमध्ये २ अर्ब ९७ करोड रुपैयाँ बैंकले आर्थिक वर्ष २०८१/८२ मा बुझाएको हो।

Tata
GBIME

त्यो वर्ष सरकारले १० खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गरेकामा नबिल बैंकले मात्रै ०.२८ प्रतिशत योगदान गरेको हो।

बैंकले पहिलोपटक आर्थिक वर्ष २०४२/४३ मा २० लाख ७ हजार रुपैयाँ आयकर बुझाएको थियो। बैंकका अनुसार त्यो वर्ष सरकारले ५ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो।

आर्थिक वर्ष २०४३/४४ मा ६७ लाख, २०४४/४५ मा १ करोड १२ लाख र २०४५/४६ मा १ करोड १६ लाख रुपैयाँ आयकर तिरेको बैंकले जनाएको छ।

बैंकले पछिल्लो ११ वर्षयता निरन्तर अर्बभन्दा माथि आयकर बुझाउँदै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा बैंकले २ अर्ब ७४ करोड रुपैयाँ आयकर तिरेको थियो।

पछिल्ला वर्ष आफ्नो व्यवसाय र सेवा सञ्जाल वृद्धि भइ वित्तीय कारोबार बढ्दै गएकाले सरकारलाई बुझाउने करको आकार पनि निरन्तर वृद्धि भएको बैंकले जनाएको छ।

बैंकले प्रत्यक्ष कर योगदानसँगै रोजगारी सिर्जना, वित्तीय पहुँच विस्तार, निजी क्षेत्रको लगानी प्रवर्धन, डिजिटल बैंकिङ सेवा विस्तार तथा वित्तीय समावेशीकरणमार्फत पनि अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले करमार्फत मुलुकको विकासमा योगदान पुर्‍याउन पाउँदा बैैंक गौरवान्वित रहेको बताए।

तर, बैंक तथा वित्तीय संस्थाले कमाउने नाफा सार्वजनिक बहसको विषय बन्ने गरे पनि सरकारलाई बुझाएको करको विषय भने ओझेलमा रहेको नबिलको गुनासो छ।